
हुलाकी न्यूज, काठमाण्डौ, २४ फागुन । निर्वाचन आयोगले लगातार तीन वर्षसम्म आय व्ययको विवरण नबुझाएको हालका खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहको साथै १५ वटा राजनीतिक दलको दर्ता खारेज गरेको बताएको छ ।
निर्वाचन आयोग ऐन २०६३ को दफा २४ को उपदफा १ बमोजिम तीन वर्षसम्म लगातार आय व्ययको विवरण पेश नगरेकोले र समयमा स्पष्टिकरण पनि पेश नगरेकाले आयोगले सिंहको समाजवादी जनता पार्टिको दल दर्ता खारेज गरेको हो ।
निर्वाचन आयोगले भने दर्ता खारेज भएका दलहरुले प्राप्त गरेको नाम, चुनाव चिन्ह र झण्डा एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले प्रयोग गर्न नपाउने गरी फ्रिजमा राखिने जनाएको छ । यसबारे सूचना नेपाल राजपत्रमा सूचना प्रकाशित गरिनेछ । दल दर्ता खारेज भएपछि सांसद रहेकाहरुको पद के हुने भन्ने अन्यौल कायमै छ ।
यता मन्त्री सिंहले भने आफूसमक्ष औपचारिक जानकारी नआएको र आयोगले कानुन विपरित काम गर्न नहुने बताए ।
१२० दललाई जरिवाना
त्यसैगरी, निर्वाचन आयोगले तीन मन्त्रीका पार्टी सहित विभिन्न १ सय २० दललाई समयमा आय व्ययको विवरण नबुझाएकोले जरिवाना गरेको छ । आयोगले उनीहरुलाई १ सय रुपैँया जरीवाना गरेको हो ।
जरिवानामा पर्ने मन्त्रीका पार्टीमा उपप्रधानमन्त्री सीपी मैनालीको नेकपा माले, विज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्टी र उद्योग राज्यमन्त्री मेघराज नेपालीको मधेस समता पार्टी पनि रहेका छन् ।



