
हुलाकी न्यूज, कैलाली, २३ फागुन । उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले टिकापुर घटनाका आरोपिततर्फ इंगीत गर्दै आन्दोलन गर्नेले जेल जान डराउन नहुने बताएका छन् । आइतबार कैलालीको धनगढिमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आन्दोलन गर्नेले जेल जान डराउन हुदैँन । टिकापुर घटनाका निर्दाेषलाई अदालतले न्याय दिलाउने छ ।’
उनले प्रहरीका उच्च अधिकारीसहित ८ सुरक्षाकर्मीको ज्यान जानेगरी गराइएको टिकापुर घटनाको न्यायिक प्रतिवेदन चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उपप्रधानमन्त्री गच्छादारले टिकापुरमा गत भदौ ७ गते भएको घटना सुनियोजित भएको स्पष्ट पार्दै निर्दाेषमाथि लगाईएको मुद्दा फिर्ता हुने आश्वासन पनि दिए ।
टिकापुर घटनाका निर्दाेषको मुद्दा फिर्ताका प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिँदै उनले भने ‘मुद्दा फिर्ता र प्रतिवेदन सार्वजनिक गर्ने जिम्मा गृह मन्त्रालयलाई दिईएको छ’ उनले थपे, ‘चाँडै टिकापुर घटनाको प्रतिवेदन सार्वजनिक गरिने छ ।’
आफू एक मधेश एक प्रदेशको विपक्षमा रहेको स्पष्ट पार्दै उनले भने ‘म एक मधेश एक प्रदेशको विपक्षमा छु । हिमाल, पहाड, तराई सबै एक अर्काका परिपुरक हुन् त्यसैले सबैमा सहानुभुति हुनु आवश्यक छ ।’



