Update महोत्तरीमा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर ७ का ६० वर्षीय गणेश चौधरी रहेका छन् । उनको आँखामा गोली लागेको छ ।

हुलाकी न्यूज, काठमाडौं २५ भदौ । शुक्रबार दिउँसो आसपासको गाउँबाट आएको सर्वसाधारणको जुलुस जनकपुरधाममा प्रवेश गर्न लाग्दा प्रहरीले करिब ५ सय राउण्ड फायर गरेको छ । जनकपुरमा प्रहरीको गोलीबाट तीन जना प्रदर्शनकारी मारिएका छन् भने दुई दर्जनभन्दा अधिक घाइते भएका छन् ।

त्यस्तै साँझ पाँच बजेबाट धनुषालाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गरिएको छ ।

मारिनेमा धनुषा जमुनियाका १४ वर्षीय निकु यादव, धनुषा महेन्द्रनगरका ३५ वर्षीय सञ्जय चौधरी र धनुषा अरेरवाको दिलिप यादव रहेका छन् । दुई जना मृतकको पुष्टि जनकपुर अञ्चल अस्पतालले गरेको छ ।

त्यस्तै महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रहरीको गोलीबाट एक जना महिला मारिएकी छिन् । महोत्तरीको हाथिलेट घर भएकी ३५ वर्षीया रामशिला मण्डल मारिएकी छिन् ।

त्यस्तै शुक्रबार विहान एक जना सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्माको मृत्यु भएको थियो ।

यता धनुषाका प्रमुख जिल्ला अधिकारीले जनकपुरधाममा सेना परिचालनको पुष्टि गरेका छन् तर मृतकका विषयमा केही बताउन चहेनन् ।

update गम्भीर घाइते चार जनालाई काठमाडौं रेफर
जनकपुर अञ्चल अस्पतालले उपचार सम्भव नभएपछि चार जना गम्भीर घाइतेहरुलाई काठमाडौं रिफेर गरेको छ ।
जनकपुरधाम १५ का सुनिल दास, रुपैठाका कामेश्वर पण्डित, विटु झा र विकास यादवलाई काठमाडौं पठाइएको छ ।
अस्पतालद्धारा सुधार

मृतक संजय चौधरीको खल्तीबाट विजय कुमार साहको परिचयपत्र निस्केपछि अस्पतालले मृतकको नाममा विजय कुमार साहेको नाम पनि घोषणा गरेको थियो । तर केही बेरअघि अस्पतालले सच्याउँदै दुई जना संजय चौधरी र दिलिप यादवलाई मात्र मृतक घोषणा गरेको छ । अर्का मृतक निकु यादवको लाश भने अबेरसम्म मिल्स एरियामा रहेको छ ।

 

1 COMMENT

  1. कामरेड केपी शर्मा अाेलीका अाँपका दानाहरू वा पराहत जनता कतिभटाभट खस्दैछन् उनकाे प्रधानमन्त्री हुने हताराेमा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.