
हुलाकी न्यूज, रौतहट, २२ फागुन । रौतहटमा अवैध रुपमा सञ्चालनमा रहेका ४८ वटा रक्सी भट्टी प्रहरीले नष्ट गरेको छ । जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका अवैध रक्सी भट्टीको कारण समाजजिक अपराधमा बृद्धि भएको भन्दै प्रहरीले घरेलु मदिरा भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।
रौतहटको संग्रामपुर, पोठियाही, मठिया, टिकुलीया, जिंगडवा बेलविछवा, गौर, सपगढा, सिशवा, बंकुललगायतका जिल्लाका ग्रामिण भेगमा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने ४८ वटा रक्सी भट्टी प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तराइमा लामो समयसम्म चलेको मधेसी मोर्चाको आन्दोलनका क्रममा प्रहरीले गस्ती गर्न छाडेपछि ग्रामिण भेगमा पछिल्लो समय अवैध रक्सी भट्टी फस्टाएको छ । रक्सी भट्टीको कारण जवरजस्ती करणी, चोरी, डकैती, लुटपाट, महिलामाथिका घरेलु हिँसालगायतका गम्भीर प्रकृतिका अपराधिक घटना र समाजिक अपराध दिनदिनै बढ्न थालेपछि घरेलु मदिरा भट्टी नष्ट गर्न अभियान चलाएको रौतहट प्रहरी प्रमुख गणेश रेग्मीले बताए ।
मधेसी मोर्चाको आन्दोलन सकिने वित्तिकै मधेशका जिल्लाको जनजिवन समान्य बनेपनि आपराधिक क्रियाकलाप नियन्त्रण हुन नसकेको गुनासा बढ्दै थिए । नजिकिँदै गएको होली पर्वमा समेत रक्सीका कारण विगतमा कतिपय घटना भएकोले यसपालीको पर्वमा कुनै किसिमको अप्रिय घटना हुन नदिन भट्टी नष्टसँगै विभिन्न गस्ती पेट्रोलिङ कार्य तिव्र बनाएको प्रहरीको भनाइ छ ।
(File Photo)



