
हुलाकी न्यूज, विराटनगर, २१ फागुन । मोरङमा राष्ट्रिय जनगणनापछिको चार वर्षमा साक्षरता प्रतिशत १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार मोरङको साक्षरता प्रतिशत ७० दशमलव १३ रहेको थियो ।
सरकारले सुरु गरेको साक्षरता अभियानपछि मोरङको साक्षरता बढेर ८७ प्रतिशत पुगेको हो । साक्षरता अभियान सुरु गर्नुअघि मोरङमा एक लाख ५८ हजार ४३६ जना निरक्षर रहेका थिए भने अब २३ हजार ५४९ जना साक्षर हुन बाँकी रहेको मोरङका सहायक जिल्ला शिक्षा अधिकारी फणीन्द्र खत्रीले जानकारी दिए ।
बाँकी निरक्षरलाई साक्षर बनाएर आगामी वैशाख भित्रमा मोरङलाई साक्षर जिल्ला घोषणा गर्ने अभियानमा रहेको खत्रीले बताए । मोरङलाई २०७१÷७२ मा सघन जिल्लाका रुपमा लिएर साक्षरता अभियान चलाइएको हो ।
(File Photo)



