
हुलाकी न्यूज, राजविराज, २० फागुन । आउँदो फागुन २५ गते मनाउन लागिएको १०६ औं अन्तरराष्ट्रिय महिला दिवसको सन्दर्भमा तय गरिएको नारा सच्याउन सप्तरीका महिलाहरुले माग गरेका छन् ।
संघीय समाजवादी फोरम नेपाल निकटको संघीय समाजवादी महिला फोरमको जिल्ला कार्य समिति सप्तरीले नारा सच्याउन माग गरेको हो । यस वर्षका लागि तय गरिएको ‘संविधानलाई ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं’ भन्ने नारालाई परिवर्तन गरी ‘संविधान सुधारौं र ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौ’ भन्ने नारा राख्न माग गरिएको छ ।
संघीय समाजवादी महिला फोरम सप्तरीले विहीबार प्रमुख जिल्ला अधिकारी नारायण भट्ट मार्फत महिला तथा बालबालिका मन्त्रालयलगायत विभिन्न मन्त्रालय तथा मानवअधिकार आयोगमा ज्ञापन पत्र पठाएका छन् ।
ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टले उक्त जानकारी सम्बन्धित निकायमा तत्कालै पठाईने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय महिला नेतृ सुनिता साहले उक्त नारा नसुधारे आफूहरुले सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएकी छिन् ।



