saptari news
हुलाकी न्यूज, राजविराज, २० फागुन । विगत ६ महिनायताको लामो मधेश आन्दोलनमा खट्दै आएका प्रहरीहरु अहिले सर्वसाधारणसँग सम्बन्ध सुधार्नतिर लागेका छन् ।

आन्दोलनका क्रममा प्रहरी र नागरिक बीचको चिसिँदै गएको सम्बन्धलाई सुमधुर बनाउनका निमित्त सप्तरी प्रहरीले “तीन महिने प्रहरी र नागरिक मैत्री अभियान” थालनी गरेको हो । राजविराज स्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित एक समारोहका बीच सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले औपचारिक रुपमा सो अभियानको उद्घाटन गरेका छन् ।

जिल्ला स्थित राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, कानून व्यवसायी, पत्रकार, शिक्षक, विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक प्रहरी, बालक्लवसमेतको सहभागितामा अभियान थालिएको छ ।

सामाजिक विकृतिविरुद्ध पनि अभियान शुरु

अभियान अन्तर्गत लागु औषध दुव्र्यसन, महिला हिंसा, ट्राफिक नियम उल्लंघन, चोरी, तस्करी, यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथालगायतका विकृति विसङ्गती विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।

आन्दोलनका क्रममा जिल्लामा रहेका सुरक्षाकर्मीहरु आन्दोलन नियन्त्रणमा केन्द्रित रहेको कारणले अपराधिक क्रियाकलाप बढ्दै गएको निष्कर्षसहित “प्रहरी नागरिक मैत्री अभियान” थालिएको सप्तरीका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताए । उनका अनुसार यो अभियान अन्तर्गत जिल्ला प्रहरी र मातहतका ईलाका प्रहरी र प्रहरी चौकीहरुले समेत स्थानीय स्तरमा समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नेछन् ।

तीन महिने प्रहरी नागरिक मैत्री अभियान अन्तर्गत पहिलो दिन बिहिवार सर्वपक्षीय ¥यालीको आयोजना गरिएको छ ।

लागुपदार्थ दुव्र्यसनमा परेका लागि सुधार गृह बनाउन नि:शूल्क जग्गा दान

यसैबिच , सप्तरीको शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवा स्थित सात विगहा जग्गा नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले नि:शुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । करिब सात करोड रुपैयाँ मोल पर्ने उक्त जग्गामा लागु औषध दुव्र्यसनमा परेर असाधारण जीवन जीउन वाध्य युवा–युवतीलाई लक्षित गरी एक वर्ष्भित्र सप्तरीमा सुधार गृह निर्माण भईसक्ने सप्तरीका प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.