tamalopa neta

हुलाकी न्यूज, भैरहवा, २० फागुन । तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलन जारी नै रहेको बताएका छन् । उनले तत्कालका लागि नाकाबन्दी, आमहड्ताल लगायतका कार्यक्रम स्थगित भइ आन्दोलनको स्वरुप मात्र परिवर्तन भएको स्पष्ट पारे ।

तमलोपा जिल्ला कार्य समिति रुपन्देहीद्वारा विहिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ठाकुरले मधेश आन्दोलनका क्रममा घाइतेहरुको उपचारका लागि सरकारले निर्णय गरे पनि त्यो कार्यान्वयन हुन नसकेको बताए । ठाकुरले आफुहरु वार्ताप्रती सधै सकारात्मक रहेको र केही समय पछि आन्दोलन सशक्त बनाउने समेत जानकारी गराए । “मोर्चाका कार्यकर्ताहरुलाई सरकारले अनेकौं मुद्दा लगाई आन्दोलनलाई निरुत्साहित गर्न खोजेको छ,तर हामी कदापि बिचलित हुँदैनौ”अध्यक्ष ठाकुरले भने ।

पत्रकार सम्मेलनमा तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले सरकारद्वारा एकतर्फि रुपमा राजनीतिक संयन्त्र निर्माण गरिएको आरोप लगाउँदै अहिले मधेसमा देखिएको शान्त वातावरण अर्को आन्दोलनको तयारी भएको बताए । पूर्व भौतिक योजना तथा निर्माण मन्त्री समेत रहेका नेता त्रिपाठीले विभिन्न नाकाबाट पेट्रोलियम पदार्थ तथा ग्यास ठूलो परिमाणमा भित्रिए पनि सरकारले कालोबजारीलाई संस्थागत रुपमै संरक्षण गरेको कारण सर्वसाधारण जनताले सहज रुपमा इन्धन तथा ग्यास पाउन नसकेको बताए।

यसै बिच तमलोपा नवलपरासी,रुपन्देही र कपिलवस्तु जिल्लाको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भैरहवामा फागुन १८ र २० गते पार्टी अध्यक्ष महन्त ठाकुरको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारसँग मधेश आन्दोलनका मृतकलाई सहिद घोषणा, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, न्यायिक छानबिन आयोगको गठन, घाइतेहरुको उपचार, आमहड्ताल र बन्दका क्रममा राजस्व वक्यौता, बैंक ऋण असुली मिनाहा लगायतका माग गरेको तमलोपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.