durgananda jha
हुलाकी न्यूज, काठमाण्डौ, १९ फागुन । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले धनुषाका दुर्गानन्द झालाई पनि शहिदको सूचिमा राखेको छ । उनको मृत्युको ५२ वर्षपछि नेपाल सरकारले अहिले आएर झालाई शहिद घोषणा गरेपनि मधेशमा भने उनलाई धेरै पहिलेदेखि पहिलो गणतन्त्रवादी शहिद र प्रजातन्त्रवादी योद्धाको रुपमा सम्मान प्राप्त छ ।

विक्रम सम्वत् १९९९ वैशाख १४ गते धनुषाको जटहिमा जन्मेका झा पिता देवनारायण झा र माता सुकुमारीदेवी झाको एक्ला छोरा थिए । बाल्यकालमा राम्रो गायक र फुटबल खेलाडिकिो रुपमा परिचित झाले प्राथमिक शिक्षा जटहिमा नै पुरा गरेका थिए भने थप अध्ययनका लागि भारतको एक विद्यायलयमा भर्ना भएका थिए ।

पञ्चायतकालमा राजा महेन्द्र सवार गाडिमा ग्रेनेड प्रहार गरेका १८ वर्षे दुर्गानन्दले आफ्नो हिम्मत, पञ्चायती व्यवस्थाप्रतिको आक्रोश र लोकतन्त्रप्रतिको प्रेम दर्शाएका थिए । २०१८ माघ ९ गत्तेको उक्त आक्रमणमा तत्कालिन राजा महेन्द्र बाँच्न सफल भए भने झा पनि भागेर भारत पुगे ।

यता नेपालमा भने अनुसन्धान भन्दै दुर्गानन्दका परिवारका सदस्य, छरछिमेक, स्थानिय नेता लगायत ५ दर्जन भन्दा बढिलाई पक्राउ गरी चरम यातना दिइयो । आफूले गरेको आक्रमणका लागि अन्यलाई यातना दिइएपछि उनले जे परिणम भएपनि नेपाल फर्किने निर्णय गरे ।

उनले तत्कालिन सरकारलाई चिठ्ठी लेख्दै गिरफ्तारी दिएपछि एक रात जलेश्वर जेलमा र त्यसपछि हेलिकप्टरमार्फत् सुन्धारा जेल ल्याइएको थियो । यो घटना छानबिनका लागि एक समिति गठन गरिएपनि २०१९ भाद्र १९ गत्ते कुनै सुनुवाइको मौका नदिइकनै मृत्युदण्डको सजाय तोकिएको थियो । ब्राह्मणलाई मृत्युदण्ड नदिइने भनेर लेखिएको मूलूकी ऐन संशोधन पनि त्यसै समयमा गरिएको थियो ।

उनलाई मृत्युदण्ड दिनुभन्दा एक दिन अघि उनकी आमा र श्रीमतिसँग उनलाई केहिबेर भेट गर्न दिइयो । २१ वर्षको उमेरमा जेलमा राखिएको १८ महिनापछि २०२० साल माघ १५ गत्ते मध्यरातमा उनलाई फाँसी दिइयो ।

हरेक वर्ष माघ १५ गत्ते झालाई सम्झँदै उनको बलिदानी दिवसको रुपमा मनाइने गरिन्छ । मधेशवादी दल र नेताहरुका साथै मधेशका बुद्धिजिवी र जनताले उनलाई शहिद घोषणा गराउन पटक पटक माग गर्ने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.