
हुलाकी न्यूज, मोरङ, १९ फागुन । भारतको बरौनीस्थित ग्यास उद्योगमा प्राविधिक समस्या आएकाले बन्द भएपछि नेपालतर्फको ग्यास आयातमाथि प्रत्यक्ष प्रभाव परेको छ ।
बरौनीस्थित ग्यास उद्योगले नेपाल आयल निगमबाट प्राप्त कोटाअनुसार ग्यास उपलब्ध गराउन नसक्ने देखिएपछि बजारको मागअनुसार वितरणमा समस्या हुने देखिएको हो ।
विराटनगरस्थित कोसी ग्यासका प्रबन्धक सचित उपाध्यायले उद्योगबाट कम्तीमा पाँच दिनसम्मका लागि ग्यास लोडिङ हुन नसक्ने भन्ने जानकारी प्राप्त भएको बताए । ग्यास उद्योगमै समस्या भएपछि मागअनुसार बजारमा ग्यास पु¥याउन गाह्रो भएको उनको भनाइ छ ।
बरौनीबाट मासिक ३९ बुलेट ग्यास ल्याउने गरेपनि फेब्रुअरी महिना सकिन लाग्दा जम्मा २५ बुलेट मात्र आयात भएको छ । उद्योगले हल्दिया र मथुराबाट पनि ग्यास ल्याउने गरेकामा अहिले त्यहाँबाट पनि परिमाण अनुसार प्राप्त नभएको बताएको छ । पूर्वमा सञ्चालित आठवटा ग्यास उद्योगले बरौनी, हल्दिया र मथुराबाट ग्यास आयात गर्ने गर्छन् ।



