
हुलाकी न्यूज, काठमाडौं १६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली काँग्रेसको महाधिवेशन पश्चात सरकार परिवर्तन हुने ठोकुवा गरेका छन् ।
विजुक्छेले अव बन्ने नयाँ सरकारमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ठूलो भाग पाउने दाबी पनि गरेका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको कार्यक्रममा विजुक्छेले काँग्रेसको महाधिबेशन पश्चात काँग्रेसकै नेतृत्वमा एमाओबादी, तराईबादी, एमालेलगायत अन्य दलहरुको सहकार्यतामा सरकार निर्माण हुने बताए ।
उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दलहरुले आन्दोलन गरेकोले अवको सरकारमा ठूलो भाग पाउने बताए । विजुक्छेले अवको सरकार मै जानका लागि मधेशवादी दलले आन्दोलन रोकेको दाबी गरे ।
स्थानिय निकायको निर्वाचनजति सक्यो छिटो गर्न सके त्यसले पुनर्निर्माणमा सहयोग गर्नुका साथै मधेश र जनजातीको आधा समस्यासमेत सम्बोधन हुने उनले बताए । अव स्थानिय निकायको निर्वाच नभए राप्रपा, एमाओबादी र मधेशबादीदलहरुको सहकार्यता हुने सम्भावना समेत बढेको टिप्पणी गरे ।



