हुलाकी न्यूज, बीरगञ्ज १५ फागुन । पर्साका प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेको अभियोगमा तत्कालीन कृषिराज्यमन्त्री करिमा बेगमलाई जिल्ला अदालत पर्साले दुई हजार जरिवाना गरेपछि उनी पुनरावेदन अदालत जाने भएकी छन् ।
वीरगन्ज आउँदा सिमरा विमानस्थलमा पुरानो गाडी उपलब्ध गराइएको विषयलाई लिएर तत्कालीन पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि राज्यमन्त्री बेगमले २०६६ साल कात्तिक २४ गते उनकै कार्यकक्षमा हातपात गरेकी थिइन् ।
प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेको अभियोगमा कृषिराज्यमन्त्री बेगमविरुद्ध प्रमुख जिल्ला अधिकारी भण्डारीका सुरक्षागार्ड (अङ्गरक्षक)ले मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाको सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजालसले बिहीबार पूर्वराज्यमन्त्री बेगमलाई दुई हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत पर्साले जनाएको छ ।
यता हुलाकी न्यूजसँग कुराकानी गर्दै बेगमले अदालतले आफुसँग अन्याय गरेको भन्दै पुनरावेदनका लागि जाने बताएकी छन् ।



