
हुलाकी न्यूज, काठमाडौं १३ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण पूर्ण रुपले असफल भएको बताएका छन् ।
अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको दावी गर्दै परराष्ट्र मन्त्रालयले आवश्यक तयारी नै नगरी आवेग र उत्तेजनामा प्रधानमन्त्री दिल्ली दौडिनु गलत भएको बताए ।
रिपोटर्स क्लवको कार्यक्रममा उनले प्रधानमन्त्रीले कुनै एजेण्डा नलिई जानु भुल भएको भन्दै दावी गरिए अनुसार भ्रमणले नेपाल भारत सम्बन्ध सुधार नगरेको बताए ।
अध्यक्ष यादवले भने,‘जोईन्ट स्टेटमेन्ट नआउनु भ्रमणको असफलता हो । त्यसले दुई मुलुकवीच केही विमती छ भन्ने देखाउँछ । प्रधानमन्त्रीले नेपालीको शिर निहुँर्याएर आएका छन भ्रमणबाट कुनै उपलब्धि भएन । बैदेशिक मामिलामा यो भन्दा असफल प्रधानमन्त्री नै ईतिहासमा थिएन । उनले ब्यालमेलिङ्गको कुटनीति गर्न खोजे । चीन विरुद्ध भारत र भारत विरुद्ध चीको कार्ड प्रयोग गर्न खोजे त्यसैले यात्रा प्रहसनमा मात्रै अन्त्य भयो । यत्रो ब्यापार घाटा छ त्यसमा कुरै गरेनन नेपालको हितमा कुरा नगर्ने ओली भन्दा अर्को प्रधानमन्त्री थिएन ।’
उनले संविधानलाई भारतले समर्थन नगरेको भन्दै आफ्नै देशका जनताले स्वामित्व नलिएको संविधानलाई भारतले समर्थन गर्ने कुरै नभएको टिप्पणी गरे ।
अध्यक्ष यादवले सात बुँदे सम्झौता पुरानै कुरा भएको भन्दै गुजरातमा नेपालको झण्डालाई उट्पट्याङ बनाउने कुराले नेपाल र नेपाली जनताको आत्मसम्मान र स्वाभिमानमा धक्का पुर्याएको दावी गरे ।
उनले भने,‘ देशको बेईज्जत हुनेगरी झण्डा बनाउँदा दिल्लीको नेपाली दुतावास के हेरेर बसेको थियो ? यसले पनि यो सरकार राष्ट्रबादी होईन भन्ने प्रष्ट बनाउँछ । राष्ट्रिय स्वाभिमान विरोधी गतिविधी हो ।’
पेट्रोलियम पदार्थ सहज आपूर्ति हुदा पनि बजारमा अभाव र कालोवजारी जारी नै रहेको आरोप लगाउँदै सरकारले ग्यास र पेट्रोलको कृतिम अभाव सृजना गरेर माफीयातन्त्रलाई प्रोत्साहन गरिरहेको आरोप लगाए । उनले भने,‘ यो सरकार ईतिहासकै सबैभन्दा बढी भ्रष्टचारी देखिएको छ ।’
सरकारले आफूहरुको माग संबोधन गर्ने गरी तत्काल ठोस कदम नचाले अबको आन्दोलन उत्तर र दक्षिण दुबै तिरका नाका अवरुद्ध गर्ने गरी देशब्यापी हुने चेतावनी पनि दिएका छन् ।



