Upendra-yadav
हुलाकी न्यूज, काठमाडौं १३ फागुन । डा.बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्तिको विस्तार हुँदैछ अर्कोतर्फ उपेन्द्र यादव मधेश राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रबेष गर्न प्रयासरत छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका कतिपय कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गर्दैछन् । हालै फोरमबाट बाहिरएका रिजवान अन्सारीसहितका नेताहरु नयाँ शक्तिसँग मिल्न सक्ने सम्भावना बढ्दै गएको छ ।

हुनत् उपेन्द्र यादव र बाबुरामबीच एकताको पनि चर्चा चलेकै थियो । तर बाबुरामले उपेन्द्रका नेताहरु तान्न थालेपछि यादव चिढिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यादवले बाबुरामको खुलेरै विरोध गरेका छन् । यादवले कार्यक्रममा भने, ‘‘नयाँ शक्ति नाम राख्दैमा कुनै संगठन नयाँ हुन्छ ? व्यङ्ग्य गर्दै अध्यक्ष यादवले भने, ‘विचार र एजेन्डाले मात्रै कुनै शक्ति नयाँ बन्न सक्छ, संविधान जारीकर्ता कुनै पनि दल वा तिनका नेता नयाँ शक्ति बन्न सक्दैनन् ।’

संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादवसहितको एक समूह बाबरामको नयाँ शक्तिमा जाने चर्चा पनि फोरम नेपालमा रहेको छ ।

तीन विद्यार्थी संगठनको समायोजन कार्यक्रममा फोरम नेपालका अध्यक्ष यादवले नेपाली कांग्रेस र नेकपा एमाले लगायत संविधान जारीकर्ता दलहरुलाई परिवर्तन विरोधी भएको आरोप लगाएका छन् । ‘संख्याको भरमा षड्यन्त्र गरी विभेदकारी संविधान जारी गर्ने कुनै पनि दल परिवर्तनकारी हुन सक्दैन’, उनले भने, ‘कांग्रेस, एमाले र एमाओवादी लगायतका दलहरुले परिवर्तनका एजेन्डालाई विसर्जन गरिसके । नयाँ संविधान त्यसैको प्रमाण हो ।’

यादवले नयाँ संविधान विभेदकारी र एकल जातीय हितमा आधारित भएकोले यसको भविष्य नरहेको चेतावनी दिएका छन् । नयाँ संविधानले एकल जातीय र उच्च वर्गलाई मात्र अधिकार र संरक्षण गरेकोले कमजोर जगमा बनेको संविधान छिट्टै ध्वस्त हुने यादवले चेतावनी दिएका हुन् । ‘यो संविधानले मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम, महिला, सीमान्तृकत तथा उत्पीडित समुदायको अधिकारलाई बेवास्ता गरेको छ ।’

तीन विद्यार्थी संगठनबीच एकीकरण

संघीय समाजवादी फोरम, नेपालको तीन वटा विद्यार्थी भ्रातृ संगठनहरुबीच बुधवार एकीकरण घोषणा भएको छ । फोरम नेपालको भ्रातृ संगठनहरु मधेशी विद्यार्थी फोरम नेपाल, अग्रगामी विद्यार्थी यूनियन नेपाल र राष्ट्रिय खस विद्यार्थी समाजबीच समायोजन घोषणा भएको हो । समायोजित विद्यार्थी संगठनको नयाँ नाम समाजवादी विद्यार्थी फोरम, नेपाल राखिएको छ ।

१२८ सदस्यीय विद्यार्थीको नयाँ कार्यसमितिमा विवेक राई अध्यक्ष, रमेश यादव वरिष्ठ उपाध्यक्ष, संदीप पाण्डे उपाध्यक्ष, वरुण यादव महासचिव, दिपेश यादव उपमहासचिव चयन भएका छन् । नयाँ कार्यसमितिलाई पार्टी अध्यक्ष उपेन्द्र यादव लगायत पदाधिकारीहरुले बधाई तथा शुभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.