हुलाकी न्यूज, जलेश्वर, ११ फागुन । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । मृत्यु हुनेमा सोनमा गाविस–८ बस्ने ६० वर्षीया बिल्टुनियादेवी धानुक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोमबार राति ८ बजेतिर आफ्नै घर अगाडि उभिइरहेको समयमा धानुकलाई सोनमा–८ मै बस्ने २२ वर्षीय रजाबुल मोमिनले अनटेस्ट मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
मोटरसाइकलको ठक्करले निधार र टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी धानुकलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
महिलालाई ठक्कर दिने अनटेस्ट मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने ठक्कर दिने युवक फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



