
हुलाकी न्यूज, काठमाण्डौ, ११ फागुन । मदिरा पिएर महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लगाइएका महोत्तरीका दुईजना जिल्ला न्यायाधीशलाई मुद्दा हेर्ने जिम्मेवारीबाट मुक्त गर्दै सर्वोच्च अदालतमा झिकाइएको छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले महोत्तरी जिल्ला न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बाँस्तोलालाई सर्वोच्चमा काजमा खटाउने गरी झिकाएको बुझिएको छ । बास्तोला जिल्ला अदालत महोत्तरीका अतिरिक्त न्यायाधीश हुन् ।
मादक पदार्थ सेवन गरी महोत्तरीको बर्दिबासमा आइतबार महिलामाथि यौन दुव्र्यवहार गरेको विषयमा स्थानीय बासिन्दाले दुवै न्यायाधीशलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
त्यही जानकारीका आधारमा प्रधानन्यायधीशले उनीहरुलाई सर्वोच्चमा तानेका हुन् । पक्राउ परेका ढुंगाना र बास्तोला न्यायधीश भएको थाहा भएपछि पिडित महिला र परिवारजनसँग माफि मागेर सोमबार प्रहरी हिरासतबाट रिहा भएका थिए ।



