Dipendra Jha
Dipendra jha

दिपेन्द्र झा
आफ्नो सगोत्रीको माग सम्बोधन गर्‍या ठीकै हो, परगोत्री थारु र मधेशीको नि गरिदिया भए हुन्थ्यो नि?
कर्णाली र मध्य पश्चिमको माग सम्बोधन गरियो र मधेशका मान्छेलाई मर्न छाडियो।
लौ एक दुई दर्जन मरोस त्यसपछि विचार गरौंला भन्ने सोच रहेछ। देउवालाई मधेशी र थारूको नेता भन्दा पनि सुदूरपश्चिमकै नेता हुने रहर रैछ, सानो कोटरी छानेकोमा वधाई छ।
तर मेरो प्रश्न जनताको मन खण्ड खण्ड पारेर भूमीलाई कति बेलासम्म अखण्ड राख्न सक्नु हुन्छ? उपेन्द्र यादव र अमरेश सिंहले थारूलाई भड्काए रे, ए बाबा तिम्रो माया यति कमजोर किन छ कि थारूहरू अरुको कुरामा लागेर तिम्रो विरुद्ध भड्किन्छ? मायाको गाँठो दरिलो बनाउ न भै‘गो नि। बाटामा हिंडनेले आँखा लगाए भनेर तर्केर हुन्छ?
के नेपाली राष्ट्रियताको जग यति कमजोर छ कि उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहले बोल्ने वितिकै कमजोर हुन्छ?
उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहलाई गाली गरेर सदनको बहुमुल्य समय खेर फाल्नु हुँदैन। सदनमा व्यक्तिगत आरोप प्रत्यारोप गर्ने हो भने सदन नीतिगत विषयको छलफल गर्ने थलो भन्दा पनि व्यक्तिगत गालीगलौज गर्ने स्थलको रुपमा परिणत हुन्छ। सदनको गरिमा समेत घट्छ। नेपालको स्थायी सत्ताको मजबुत कडी रहेको सञ्चार माध्यमले अमरेश सिंहलाई किन देखि नसकेको हो? जे गरे पनि जे बोले पनि उल्टो अर्थ लगाउने। जसले जे भने पनि सत्य कुरा के हो भने उनी जनताबाट मत पाएर जितेर आएका हुन्। जनताभन्दा ठूलो कुनै अदालत हुँदैन। यसकारण एउटा कुरा के बुझ्न जरुरी छ भने काठमाडौंमा मधेशी नेतालाई जति खेद्यो उ मधेशमा त्यतिनै ठूलो हिरो हुने हो।
नेपालको लगभग आधा जनसंख्या झण्डै एक करोड जनसंख्या भएको समुदायले उठाएको आवाजलाई शासनमा रहेकाले अनदेखा गर्न सक्दैनन्। मधेशीहरू जन्मदै खप्परमा विखण्डनकारी लेखेको भएर जन्मनछन् की क्या हो?
म सँगै थाइल्याण्डमा मास्टर पढ्ने पहाडी मुलका साथी अमेरिकामा मज्जाले वसेर दाम कमाउँदा उनी चाँही राष्ट्रिय हुने म नेपालमा वसेर काम गर्दा पनि उनी भन्दा कम राष्ट्रिय हुने?
होइन यो राष्ट्रियताको मापन गर्ने प्यारामिटर चाँही के हो नी? अनुहार नै हो भने म यस्तो राष्ट्रियता मान्दिन। के यो देशमा भएका आमनेपालीले समान हक पाउनुपर्छ भन्ने वकालत गर्दा देशप्रतिको वफादारितामा शंका गर्न मिल्छ?
छलछाम र शक्तिको प्रयोग गरेर जनतालाई अधिकारबाट केही समयसम्मका लागि मात्रै बञ्चित राख्न सकिन्छ, सँधैको लागि कदापि होइन।
दोस्रो संविधानसभापछि थारूमधेशको म्याथमेटिक्स केही विग्रेको छ तर केमेस्ट्री अझै विग्रेको छैन भन्ने कुरा भारदह विद्रोहले देखाइसक्यो।
विजय गच्छेदारले थारु र मधेशी जनताको भावना विपरित लेनदेनको आधारमा गरेको सम्झौता त्यहाँका आन्दोलनकारी युवा जमातले स्वीकार्य गर्ने अवस्था छैन।
नेपाली राष्ट्रियतालाई उपेन्द्र, राजेन्द्र र अमरेशले कमजोर गरेको होइन बरु भारहदलाई मिनी जलवगीया बनाउन गोली हान्ने अधिकारी, आदेश दिने हाकिम र कारवाही नगर्ने मन्त्रीले गरेका हुन्।
गम्भीरतापूर्वक सोचौं, घरको भित्तामा, गाउँको वाँसमा, बिजुलीको मिटरमा, देवनारायणको खुटामा, गोपाल मण्डलको लिभरमा र राजीव राउतको छातीमा गोली प्रहारले कसरी नेपाली राष्ट्रियता मजबुत हुन्छ?
मृतक राजीव राजीव राउतको ३ महिने छोरी आरुजु र १६ महिने छोरो आर्यनलाई ठूलो भएपछि नेपाली राष्ट्रियताको खुव माया लाग्छ होला र दिनभरी सयौँ थुँगाको रट लगाउने होला। सुर्खेतमा तीन जना मानिस मरे, मन्त्रिपरिषद्ले १० लाख क्षतिपूर्तिको घोषणा गर्‍यो। घैँटेलाई शहीद घोषणा गर्नु पर्छ भन्नेहरुले राजिव राउतलाई नेपाली शहीदको स्तरमा पर्ने भने देखेनन्। उपेन्द्र यादव र अमरेश सिंहले टिकापुरमा गरेको भाषणको संसदीय छानवीन गर्ने उपसमिति वनाउन हतारो गर्नेहरु राजीव हत्याको घटना छानविनका लागि उपसमितिको आवश्यकता ठानेनन्।
अहिलेको मधेश आन्दोलनमा मृत्यु भएको आन्दोलनकारीको परिवारलाई आन्दोलन पश्चात्त प्रदेश सरकार बनेपछि ५० लाख दिने निर्णय गर्ने मधेशी मोर्चालाई वोकोहराम, अलकायदा र आतंकवादी संगठन भन्दा पनि चरम सम्म भन्न भ्याइयो र यो उपसमितिले यो पनि छानविन गर्ने अरे।
मोर्चाले ५० लाख दिने ठीक निर्णय गरे भन्ने कुरा होइन, तर राज्य व्यवस्था समितिले यस बिषयमा बेलायतको संसद जस्तो देखाएको तदारुकता र भारदह घटनाप्रति साँधेको मौनता माथि मेरो प्रश्न हो।
भारदहको राजीव राउतको मृत्युको क्षतिपूर्ति घोषणा गर्न किन ढिलाई हो? उनी करदाता होइनन्? बिचरा केराको व्यापार गरेर परिवार राम्रै पाल्या थिए र सरकारलाई पनि कर तिरेकै थिए। उनको छातीमा छेडेको गोली र बन्दुकमा सायद उनले पसिना बगाइ तिरेको करको पनि एक रुपैयाँ पर्यो होला। भैरहवामा पहाडी मधेशी लडाएर, टिकापुरमा थारु पहाडी लडाएर राज्यले कुन राष्ट्रियता मजबुत गर्न खोजेको हो?

भैरहवाबाट कुटाइ खाएर गएका मधेशी गाँउ फर्किदा पुलिस चौकी र सरकारी कार्यालमा राखेको नेपाल सरकारको वोर्ड हेर्ने बित्तिकै श्रद्धाले गदगद र मेरो सरकार हो भन्ने आश कसरी गर्ने?
भिजिलान्ते प्रयोगले राजनितिक आन्दोलनले सामुदायिक हिंसाको रंग पाउँछ भन्ने ज्ञान त पक्कै छ होला। गाँउवाट भैरहवा राजनितिक आन्दोलनमा गएका सुनिल यादवको मृत शरीर डण्डा खोलाको छेउमा भेटिँदा उनको बुवा आमाको अनुहार नेपाली राष्ट्रियताले ओतपोत हुने होला। नागरिकता नदिने, अधिकार नदिने, पहिचान नदिने, सिडिओ, एसपी हुन नदिने र अनि राष्ट्रियता को अपेक्षा गर्ने? प्रदेश मागे बिखण्डनकारी हुने, समावेशीको कुरा उठाए असक्षम हुने, पहिचानको कुरा उठाए जातिवाद हुने?
सत्य र तथ्य परक कुरो गर्ने वित्तिकै काजी साहेव लेण्डुप दोर्जे र फीजिका महेन्द्र चौधरी हुने? कस्तो नियम बनाएको स्थायी सत्ताले? मिरजाफर हुन अस्वीकार गरेपछि घचेटेर लोण्डुप नै वनाउने कस्तो खेलको नियम हो?
यसकारण बेलैमा सोचौँ, कालापानी र लिपुलेक जोगाउन नसक्ने विखण्डनकारी कि चौदह सय किलोमिटरको खुला सीमानामा एक इन्च पनि खण्डित हुन नदिने मधेशीहरु?

लेखक सर्वोच्च अदालतमा अभ्यासरत अधिवक्ता हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.