
हुलाकी न्यूज, जनकपुर, १० फागुन । धनुषा जिल्लामा विद्यालय नगएका किशोरीका लागि सञ्चालित किशोरी शिक्षामा व्यापक भ्रष्टाचार भएको देखिएको छ । विद्यालय जानबाट वञ्चित १० देखि १६ वर्ष उमेरका किशोरीलाई शिक्षा दिने उद्देश्यले गत वैशाखदेखि सञ्चालनमा ल्याइएको किशोरी शिक्षा अपेक्षाकृत रुपमा प्रभावकारी हुन नसकेको पाइएको छ ।
दलित, मुस्लिम, जनजातिसहित विद्यालय जान नसकेका किशोरीलाई आधारभूत तहअन्तर्गत अनौपचारिक शिक्षाका रुपमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । तर कार्यक्रम सञ्चालनको जिम्मा पाएको संस्था लाइफ नेपालले बजेट दुरुपयोग गर्दै शिक्षा कार्यालयलाई जानकारी नै नदिई कागजी रुपमा कार्यक्रम चलाइरहेको जिल्ला शिक्षा कार्यालय धनुषाका कार्यक्रम अधिकृत शशी यादवले बताए ।
युनिसेफको सहयोगमा लाइफ नेपालले जनकपुर उपमहानगरपालिकासहित जिल्लाका ३० स्थानमा किशोरी शिक्षा सञ्चालन गरेपनि पछिल्लो समय नियमित रुपमा कक्षा सञ्चालन नहुँदा योजना प्रभावकारी नभएको शिक्षा कार्यालय धनुषाले जनाएको छ ।
कागजी कक्षा सञ्चालन
धनुषाको फुलगम्मा र तारापट्टी गाविस, क्षिरेश्वरनाथ नगरपालिका र जनकपुर उपमहानगपालिकासहित ३० स्थानमा सञ्चालन गर्नुपर्ने कक्षा संस्थाको लापरबाहीका कारण नियमित हुन सकेको छैन । कार्यक्रम सञ्चालन सम्बन्धमा उक्त संस्थाले जिशिका र सम्बन्धित गाविस सचिवलाई जानकारी दिनुपर्ने हुन्छ । तर लाइफ नेपालले कार्यक्रम सञ्चालन भइरहेको बताएपनि सम्बन्धित स्थानीयवासीले कार्यक्रम सञ्चालित नरहेको बताएका छन् ।
कुल रु ३९ लाख ४८ हजार ७०० को बजेटमध्ये कक्षा नै सञ्चालन नगरी लाइफ नेपालले जिशिका र जिविस धनुषामार्फत १७ लाख ३३ हजार ९३३ रुपैयाँ भुक्तानी गरिसकेको छ । शिक्षा कार्यालयलाई यसबारे कुनै जानकारी नै नरहेको धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मिहिलाल यादवले बताए ।
अनुगमनमा गएको समयमा केही किशोरीलाई जम्मा गरेर कक्षा सञ्चालन गरेको जस्तो गरेपनि नियमित कक्षा सञ्चालन नभएको पाइएपछि परियोजनाको उद्देश्य पूरा नहुने निश्चित देखिएको सहायक जिशिअ यादवको भनाइ छ ।
(File Photo)



