
हुलाकी न्युज, कलैया, ९ फागुन । बाराको अधिकांश गाविसहरुमा यतिखेतर गाउँ परिषद् गर्ने चटारो परेको छ । विगत ६ महिनाभन्दा बढि तराई मधेस आन्दोलनका कारण पूर्णरुपमा बन्द रहेकोले पुष मसान्त भित्र हुनुपर्ने भएपनि जिल्लाका धेरैजसो गाविस र नगरहरुमा गाउँ परिषद् अहिलेसम्म हुन सकेको छैन ।
बारा जिल्ला विकास समितिले गत फागुन ४ गते सचिवहरुको मासिक बैठकमा एकसाता भित्र गाउँ तथा नगरहरुको परिषद् सम्पन्न गर्न निर्देशन दिई सकेको स्थानीय विकास अधिकारी नाराणबहादुर पाण्डेले बताए ।
बारामा ६ नगरपालिका सहित ६८ वटा गाविसहरु छन् । मधेस आन्दोलनकै बेला तीन नगरपालिकाहरु कोल्हवी, गढिमाई र निजगढ तथा २७ वटा गाविसहरुले गाउँ परिषद् सम्मन्न गरेको जिविसले जनाएको छ भने कलैया, महागढीमाई र सिम्रौनगढ नगरपालिकाको हालसम्म परिषद् हुन सकेको छैन ।
कागजी रुपमा परिषद् भएको जनगुनासो
तर यस अवधिमा भएका र हाल हुँदै गरेका अधिकाशं गाविसका सचिवहरुले खुला रुपमा नभई सदुमुकाम र गोप्य रुपमा परिषद् सम्पन्न गर्ने गरेको आरोप लागेको छ । सरोकारवाला, सर्वसाधारण र राजनीतिक दलका प्रतिनिधिहरुको रोहवरमा खुल्ला रुपमा गाउँ परिषद् गर्नुपर्ने भएपनि कागजी रुपमै परिषद् भईरहेको नागरिकको गुनासो छ ।
मधेसी मोर्चाले आहवान गरेका तराई मधेस बन्दका वेला गाउँ तथा नगर परिषद् गर्न केही असहज भएपनि अहिले अलिक सहज परिस्थिति छ । तर अन्दोलनकै बहाना बनाई कतिपय गाविस सचिवहरुले सदरमुकाम त केहीले गाउँमै गोप्य रुपमा परिषद् गरिरहेको जनगुनासो आईरहेको जिविस स्रोतले जनाएको छ ।
यता स्थानीय विकास अधिकारी पाण्डेले भने केही गाविसहरुमा मधेस आन्दोलनको बढि प्रभाव भएकाले कम सहभागितामा परिषद् भएको हुनसक्ने स्वीकार गर्दै जिविसले सवै सरोकारवालाहरुको अनिवार्य उपस्थिति र कोरम र्पुयाएर परिषद् गर्न सचिवहरुलाई निर्देशन दिएको बताएका छन् ।



