
हुलाकी न्यूज, इनरुवा ८ फागुन । विश्लेषक सीके लालले मधेशका मुस्लिमहरु तीन प्रकारको विभेदमा परेको बताएका छन् ।
तराई–मधेश राष्ट्रिय अभियानले शनिबार सुनसरीको सदरमुकाम इनरुवामा गरेको ‘मधेश आन्दोलनमा मुसलमान समुदायको सवाल’ विषयक अन्तरक्रियामा विश्लेषक लालले मुस्लिमहरुको अवस्था परिवर्तन हुने बताए ।
लालले मुस्लिमहरु मधेशीसँगै शोषकका विरुद्ध लड्नु पर्नेतर्क समेत गरेका छन् ।
कार्यक्रममा लालले दिएको मनत्व्यको मुख्य अंश जस्ताको त्यस्तै
मधेश आन्दोलनमा केही गलत शुरूआत भएकोले अहिले केही कालका लागि अन्धकार देखिएको हो । तर, यो अवस्था सधै रहदैन ।
मुसलमानहरूमा तीन प्रकारको विभेद छ । पहिलो धर्म वा मजहवको नाममा, दोस्रो मधेसीको नाममा र तेस्रो आर्थिक शोषणको रूपमा । मुसलमानहरू यी मध्ये कुनको बिरोधमा पहिले उभिने ?
धर्मको संघर्ष यहांको मात्र होईन । यो संसार भरको हो । धर्मका लागि यहां नेपालमा लडाई लडेर मात्र हुदैन । नेपालमा मुसलमानहरू मधेसी हुन र राजनीतिक शोषणका शिकार भएका छन । मधेशीको लडाई मुसलमानको पनि लडाई हो ।
यो संगसंगै मिलेर लडनु पर्दछ । मुसलमानले प्राथमिकता तय गर्नु पर्दछ । पहिले कुन लडाई लड्ने भनेर । मुसलमानले विभेद र शोषण बिरूद्धको लडाई मधेसीसंगै मिलेर लडनु पर्दछ । आफ्नो मात्र कुरा गरेर हुदैन । सबैको कुरा गरेर मात्र राजनीतिमा स्थान बनाउनु पर्दछ । मजहवी लडाई लामो जान्छ ।
नेपालमा भारतको गंभीर छाप परेको छ। हामी सबैका उपर । भारतको विभाजन पछि नेपालका मुसलमानमा पनि असर परेको छ । यो एक छुट्टै बिषय हो । यसलाई अधिकारको आन्दोलनसंग जोड्नु हुदैन । यसको अलग स्थान हुनु पर्दछ । तत्कालको कुरो राजनीतिक अधिकारको कुरो हो । यसमा मुसलमान स्पष्ट हुनु पर्दछ ।
मधेस आन्दोलनले नेताको रुपमा आकाशमा धेरै तारा सिताराहरू स्थापित गर्यो । तर, आकाशको ताराले बाटो देखाउदैन । बाटो देखाउन दियो बाल्नु पर्दछ । अहिले मधेशी पार्टीले देखाउन सकेन भने नयांले दियो बाल्नु पार्दछ ।



