
हुलाकी न्यूज, राजविराज, ८ फागुन । जारी तेश्रो मधेश आन्दोलनका घाइते राजविराज–७ का भुवनेश्वर साह ‘बेलचन’ लाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
गत मंसिर ५ गते सप्तरीको रुपनीमा आयोजित राजमार्ग केन्द्रित आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भएका थिए । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब डेढ महिनासम्म उनको सघन उपचार गरिएको थियो । पेटमा गोली लागेका उनको सानो आन्द्रा काटेर फालिएको छ ।
हिँडडुल पनि गर्न नसक्ने अवस्थामा रहेका उनलाई समय समयमा जँचाउनका लागि धरान गईराख्नुपर्न पर्ने हुन्छ । उपचारार्थ धरान जाँदा औषधीलगायतका खर्च धान्न घाइते बेलचनलाई समस्या भएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि हालसम्म आफू राजविराजबाट तीन पटक धरान गएको बेलचनले बताए ।
धरानमा रहँदा त्यहाँ उपलब्ध नभएका औषधीहरु किन्नुपर्दा हालसम्म आफ्नो ८० हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए । फेरी धरान जान लागेका उनलाई खर्च जुटाउन समस्या भएको छ ।



