
हुलाकी न्यूज, काठमाडौं ८ फागुन । प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रम गरिरहेका डा.सीके राउतका कार्यकर्ताहरुलाई प्रक्राउ गरिएको प्रति स्वतन्त्र मधेश गठबन्धनले घोर भत्र्सना गरेको छ ।
पक्राउको विरोधमा प्रदर्शन गरिरहेका २२ जनालाई प्रहरीले कुटपिट गरी घाइते बनाएकोमा गठबन्धनले दुःख व्यक्त गरेको छ ।
शनिबार गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रजातन्त्र दिवसको अवसरमा पूर्ण प्रजातान्त्रिक मार्गलाई शिरोधार्य गरी सप्तरीको भारदहमा अवस्थित बी.पी माध्यमिक विद्यालय परिसरमा स्वतन्त्र मधेश गठबन्धन, सप्तरीले जनचेतना अभियान अन्तर्गतको कार्यक्रम संचालन गर्ने क्रममा स्वतन्त्र मधेश गठबन्धनका नेताहरु श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई नेपाल प्रहरीले गिरफ्तार गरी थुनामा राखेको घट्नाप्रति घोर भत्र्सना गर्दछौं ।’
अपंगहरुलाई समेत कुटपिट गरेको भन्दै विज्ञप्तिमा भनिएको छ,‘शान्तिपुर्णरुपमा भईरहेको छलफल कार्यक्रममा नेपाल प्रहरीको संघातिक हमलाबाट अपांग बटु माझी, कैलास कुमार दास लगायत संजिव साह, ललन मंडल, पंकज सिंह, राज नारायण यादव, चंदन कुमार मंडल, हरि शंकर विश्वास, रतन पैत्रा, शुरेस कुमार मुखिया, रमेश गुप्ता, सिता राम मंडल, सुन्तु कुमार गोईत, सुबरेन कुमार मंडल, संजिव कुमार दैन, राम कुमार माझी, राम सेवक यादब, सुर्य नारायण बिश्वास, सिव शंकर यादव, महेश कुमार माझी, संतोष कुमार झा, धन राज राउत घाईते भएका छन् ।’
सरकारले गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई डर त्रास देखाउने गरेको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ,‘नेपाल प्रहरीको दमनमा विगतका केही महिनामा सैकडौं कार्यकर्ताहरू घाइते हुनुका साथै एक दर्जन भन्दा बढी समर्थकहरूमाथि नेपाल प्रहरीले झुठा सार्वजनिक मुद्दा दर्ता गरी यातना दिने काम गर्दै आएको छ । त्यसैगरी डा. राउतका समर्थकहरूलाई नेपाल प्रहरी, प्रमुख जिल्ला अधिकारी आदिले बारम्बार बोलाएर अनेकौं तरीकाबाट डर, त्रास र धम्की देखाउँदै यातना दिने काम भइरहेको छ ।’
‘नेपाल सरकार र प्रहरीद्वारा यसरी मधेशीहरुको मानवअधिकारको चरम हनन भइराख्दा पनि नेपाली मीडिया, मानवअधिकारकर्मीहरू र नागरिक समाज मौन बस्नु आफैंमा बिडम्बनापूर्ण रहेको छ । स्वतन्त्र मधेश गठबन्धन विभेदरहित भई सम्पूर्ण जनताको मानवअधिकारको संरक्षण गर्न समस्त पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजलाई अपील समेत गर्दछ ।’–विज्ञप्तिमा जनाइएको छ ।




