
हुलाकी न्यूज, काठमाडौं ७ फागुन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले एकतर्फी रुपमा बनाएको राजनीतिक संयन्त्र षड्यन्त्र मात्र भएको बताएका छन् ।
अध्यक्ष महतोले विना कार्यविधि बनाइएको संयन्त्रले आन्दोलनकारीलाई अल्झाउने टिप्पणी गरे ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकारले एकतर्फी रुपमा बनाएको संयन्त्र मधेशी मोर्चालाई मान्य नहुने बताए ।
अध्यक्ष महतोले भने,‘ओली सरकारले एकतर्फी रुपमा संयन्त्र बनाएको होइन षड्यन्त्र गरेको हो । हामीलाई मान्य छैन । कार्यविधि विना यसले कुनै काम गर्न सक्दैन । सिमाकंनका लागि कुनै आधार नबनाई संयन्त्र मात्र बनाएर काम चल्दैन ।’
अध्यक्ष महतोले मधेशी मोर्चा सिमांकनको सवालमा उच्चस्तरीय आयोगले दिएको बहुमतको प्रतिवेदन मान्न तयार रहेको बताए । तर संयन्त्रको नाममा गडबडी भए आफूहरुलाई मान्य नहुने महतोले चेतावनी दिए ।



