अनिलकुमार झा, अध्यक्ष, नेपाल सद्भावना पार्टी
० आन्दोलन तुहिएकै हो त ?
— होइन । यो आरोप मात्र हो । यो सत्य होइन । आन्दोलन तुहिएको छैन । अब कसैलाई सत्य लाग्न सक्छ, कसैलाई आरोप लाग्न सक्छ । अब यातायात खुल्यो । कसले खोल्यो त ? नाका खुल्यो । कसले खोल्यो त ? बजार, स्कूल सबै खुले । जनताले यातायात, नाका, बजारलगायत सबै नखोले पनि हुन्थ्यो नि । तर, नेताले जिम्मा लिनुपर्छ । सबैले खोलेपछि बन्द खुल्यो नि ।
० नेतृत्वले जे भन्छन्, त्यही हुने होइन र ?
— होइन, यो कुरा सही होइन । कुनै बेला गजेन्द्रनारायण सिंह सिंहदरबार अगाडि आमरण अनशनमा बस्नुभएको थियो । मधेशी जनता सडकमा आएनन्, त्यही भएर उहाँ घर फर्किनुभयो । त्यसपछि ऋतिक रोशन काण्ड भयो । त्यतिबेला मधेशकेन्द्रित एक मात्र नेपाल सद्भावना पार्टीको कार्यालय जलाइयो । मधेशमा दुई–चार दिन आन्दोलन भयो, तर सकियो । ऋतिक रोशन काण्डपछि हामीले मेची–काली रथयात्रा गरेका थियौं । जनता त्यसमा स्वतःस्फुर्त आएनन् । त्यो आन्दोलनको रूप लिन सकेन । जब–जब जनता आएका छन्, तब–तब आन्दोलन भएका छन् । नेताले त आह्वान मात्र गर्ने हो । मैले कसैको आलोचना गरेको होइन । जनता, नेता, साथी कसैप्रति मेरो कुनै गुनासो छैन । म संवेदनशील कुरा गरेको हुँ । कसैमाथि कुनै आरोप लगाउन खोजेको होइन ।
० त्यसो भए, आन्दोलन स्थगित हुनुमा नेताहरूको दोष छैन ?
— होइन । नेताहरूलाई दोष दिँदा पनि हुन्छ, नदिँदा पनि हुन्छ । जनतालाई जे मन लाग्छ, त्यो भन्दा हुन्छ नि । तर, म संवेदनशील भएर के कुरा गर्न चाहन्छु भने यसमा नेताहरू मात्र दोषी छैनन् । बन्द खोल्न कुनै नेताले भनेका थिएनन् । वास्तवमा भन्ने हो भने बन्द खोल्नुपर्ने आवश्यकता भइसकेको थियो । करिब ६ महिना भइसकेको थियो । आवश्यकता थियो, त्यही भएर खुल्नु थियो, खुल्यो ।
० मधेशी मोर्चाको विस्तार आन्दोलनका बेला किन हुन सकेन ?
— यसको जवाफ दिने उपयुक्त व्यक्ति म होइन । जसले यो काममा ढिलाइ गर्नुभयो उहाँहरूले यसको उचित जवाफ दिनुहुन्छ । आन्दोलनका अवधिमा विभिन्न दलहरूबीच छुट्ने र जुट्ने क्रम पनि चलिरह्यो । विविधता भएको समाजमा सबैलाई एकै ठाउँमा ल्याउन अलि अप्ठयारो नै हुन्छ । म चाहीं सशक्त मोर्चाका लागि प्रयास गर्दै आएको छु । अधिकार प्राप्तिको आन्दोलनमा सबै एकठाउँमा आउनुपर्छ । कहीं न कहीं हामी सबै दोषी छौं । अब सबै दोषी मिलेर कडा आन्दोलन गर्नुपर्छ । कडा आन्दोलन गरेर मधेशी जनतालाई अधिकार दिलाउन सक्यौं भने सबैका कमिकमजोरीलाई आन्दोलनको सफलताले पखाली दिनेछ ।
० संघीय समावेशी मधेशी गठबन्धनमा रहेका चार दलमध्ये तराई–मधेश राष्ट्रिय अभियान मधेशी मोर्चामा अटाउन सकेन नि । किन होला ?
— संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कुनै बेला आठ दलको मोर्चा पनि थियो । कुनै बेला दुई दलको पनि थियो । दुई दलदेखि आठ दलका बीच विभिन्न कालखण्डमा मोर्चाको संकुचन र विस्तार हुने क्रम चलिरह्यो । स्वभाविक रूपले अलग–अलग पार्टीहरू मिलेर बन्ने मोर्चा समान अनुशासन र समान सैद्धान्तिक प्रतिबद्धताका साथ चल्न सक्ने स्थिति रहँदैन । यसमा तलमाथि हुने परिस्थिति बनिरहने हुन्छ । तर, कुरा सत्य के हो भने, मधेशी जनतालाई अलग–अलग रहेका मधेशवादी दलहरूलाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्नसमेत अप्ठयारो पर्छ । तर, यी सबका बाबजुद पनि मधेशी जनताले मधेशवादी दलहरूलाई सहयोग गरिरहे । आन्दोलनमा एक दिनमा २० लाखसम्म पनि मानिसहरू आए । संसारमा कहीं पनि नभएको शान्तिपूर्ण आन्दोलन करिब ६ महिनासम्म चलिरह्यो । अब यति लामो आन्दोलन गरिसक्दासमेत शासकहरूले जनताको अधिकार प्राप्तिको आन्दोलनलाई सम्बोधन र शहीदहरूको रगतको सम्मान गरेनन् । जसले गर्दा मधेशी मोर्चाका चारवटै घटक दलले हामीले मात्र आन्दोलनलाई निष्कर्षमा पु¥याउन सकेनौं ठहरसहित बृहत् मोर्चाबन्दी हुनुपर्दछ भन्ने कुरा स्वीकार गरे । बृहत् मोर्चाबन्दी हुनुपर्छ भनेर हामी त पहिलेदेखि नै आग्रह गरिरहेकै थियौं । यसबीचमा मोर्चा र गठबन्धन मिलाएर महागठबन्धन वा बृहत् मोर्चा बनाउन पनि आग्रह गरेका थियौं । र, अरू शक्तिहरूलाई पनि त्यसमा समावेश गर्ने आग्रहसमेत गरेका थियौं । तर, त्यसका लागि अर्को पक्ष पनि त्यतिकै तयार हुुनुपर्छ । त्यसबेला मोर्चाका साथीहरू तयार त भए । तर, त्यही रूपमा तयार भएनन् । उहाँहरूले त्यसको डिजाइन गर्दा संसदभित्रका दलहरू र संसद् बाहिरका दलहरू भनेर एउटा नयाँ तर्क अगाडि ल्याउनुभयो । संसद्भित्र रहेका दलहरू अहिले एकसाथ काम गरौं । र, जो संसद् बाहिरका छन्, उनीहरूका बारेमा फेरि हामी सात दलभित्र सल्लाह गर्ने कुरा आयो । हाम्रो अगाडि एउटा समस्या के रह्यो भने कि त हामी सात दललाई एक ठाउँमा लिएर अगाडि बढ्ने कि त दुई ठाउँमा चार प्लस चारका रूपमा रह्ने । यसमा सात दलको मोर्चा अहिले बनाउने र त्यसबाहेकका जयप्रकाश गुप्ताजीको नेतृत्वमा रहेको तराई–मधेश राष्ट्रिय अभियान र अन्य आन्दोलनरत पक्षलाई पछिका दिनमा सल्लाह गर्ने कुरा भयो । यसरी सात दलीय मोर्चा बन्यो । अहिलेलाई यतिस मगर्न सकियो ।
० तराई मधेश राष्ट्रिय अभियानलाई आउन नदिनकै लागि संसदीय दलहरूको मोर्चा भन्ने तर्क अघि सारिएको भन्ने आरोप छ नि ?
— जेपी गुप्ता नेतृत्वको अभियानलाई नल्याउनका लागि पनि गरिएको हुन सक्छ । तर, हामी त त्यो डिजाइन हुने ठाउँमा थिएनौं । हामी त जेपी गुप्ता भएकै गठबन्धनमा थियौं । अब के–के डिजाइन भयो, कुन रणनीतिका कारण भयो, भन्ने कुरा त उहाँहरूले भन्नुहुन्छ । म आइसकेपछि मोर्चामा भएका निर्णयमा म जवाफ दिन सक्छु । तर, जुनबेलासम्म मोर्चामा हामी थिएनौं, त्यसबेलाका कुराको जवाफ काल्पनिक मात्र हुन सक्छ । मैले हस्ताक्षर गर्ने बेलासम्म पनि सबैलाई मिलाएर लैजानुपर्छ भनेर बल गरेकै हो । मैले पटक–पटक यो कुरा राखें । यस्तो अवस्थामा हामीसँग दुई वटा मात्र विकल्प थियो । कि त त्यहाँबाट हिंड्ने कि त मोर्चा विस्तार गर्ने । दुई विकल्पमध्ये एउटा रोज्नुपर्ने थियो । अब त्यहाँबाट हिंडेको भए, जनतामा झन् नकारात्मक सन्देश जान्थ्यो । हो, हाम्रो हातमा अधिकार थियो । हामीलाई कसैले जबरजस्ती हस्ताक्षर गराएका होइनन् । हामीले के सोच्यौंं भने, आठ दलको मोर्चा हुँदा एकदमै राम्रो, सातवटाको हुँदा एकदमै खराब चाहीं हुन सक्दैन । जे भयो भयो, थप काम पछि गरिन्छ ।
० मधेशी मोर्चामा समाहित हुने विषयमा संघीय समावेशी मधेशी गठबन्धनभित्र कुनै चर्चा नै नभएको तमरा अभियानका नेताहरूको गुनासो छ नि ?
— यो गुनासो जायज हो । हो, गठबन्धनमा छलफल आवश्यक थियो । छलफल गर्न सकिएन । उहाँ प्रायः जिल्लामै बस्नुहुन्छ । एक दिन अर्कै सन्दर्भमा जेपी गुप्ताजीलाई मैले फोन गरेको थिएँ । रक्षामन्त्री भीम रावलले मलाई फोन गर्नुभयो । उहाँ (भीम रावल) ले फोन गरेर भन्नुभयो– ‘मोर्चासँग वार्ता चल्दैछ, तपाईंहरूसित पनि वार्ता भएकै छ । फेरि पनि वार्ता अगाडि बढाउनुप¥यो’ । त्यसपछि मैले यो विषयमा जानकारी दिन गठबन्धनका सबै नेताहरूलाई फोन गरें । त्यसमध्येको एउटा नेता हुनुहुन्थ्यो, जेपी गुप्ताजी । रावलजीले भनेका कुरा गुप्ताजीलाई जानकारी दिएँ । तर, गुप्ताजीले सिधै मलाई भन्नुभयो– ‘मलाई थाहा छ’ नेपाल सरकार, मधेशी मोर्चा र अरू पनिको नाम लिनुभयो । ‘उनीहरूको बीचमा डिल भएर सबै कुरा तय भइसकेको छ । तपाईंहरू त्यहाँ कुरा गर्न जाने हो भने हस्ताक्षर गर्नुपर्ने हुन्छ । त्यस्तो हस्ताक्षर गर्नुपर्ने भयो भने त्यहाँ हाम्रो हस्ताक्षर हुँदैन । तपाईंहरू तीन पार्टी मिलेर गर्नुहोला । तपाईंहरू संसद्वादी हुनुहुन्छ’ । उहाँले एक सासमा यो कुरा भन्नुभयो । यसरी भनेपछि मलाई पनि चित्त दुख्यो । मलाई रक्षामन्त्री भीम रावलले फोन गर्नुभएको थियो । र, जे भन्नुभएको थियो, त्यही कुरा मैले गुप्ताजीलाई सुनाएको मात्रै हो नि । मैले सूचना त दिएको हो नि । सरकारसँग कुरा गर्ने कि नगर्ने भन्ने मात्र सन्दर्भ थियो । अर्को कुरा, विराटनगरमा शहीदको श्रद्धाञ्जली दिन जाने क्रममा म र गुप्ताजी सँगसँगै विराटनगर गएको थिएँ । विराटनगरमा राजेन्द्र महतोजीसँग म र गुप्ताजी एकसाथ भेट्न गएका थियौं । जनताले पनि भने सबै नेता एकसाथ आउनुप¥यो । महतोजीले मसँग भलाकुसारी पनि गरेनन् । म उहाँलाई भेट्न दिल्लीको मेदान्ता अस्पतालसम्म पुगेको थिएँ । विराटनगरमा महतोजीले गुप्ताजीलाई भन्नुभयो– ‘आज रात को आप विराटनगर मे रहेगें न’, गुप्ताजीले पनि भन्नुभयो, ‘हाँ हम रहेगें’ । महतोजीले– ‘आज रात को नहि तो कल सुबह मे मिलते है’ । अब दुई जनासँग हात मिलाउने र एक जनालाई भोलि मेरो घरमा भात खान आउन भने पछि कोही जान्छ र । दुई जना साथीमध्ये एक जनालाई मात्र निम्तो दिनु त अपमान हो नि । अब भोलिपल्ट गुप्ताजी महतोजीलाई भेट्न घरमा जानुपर्ने जरूरी थियो ? त्यसबेला जेपीजीको पार्टनर म थिएँ, राजेन्द्रजी होइन नि । त्यसैले सहकार्यको राजनीतिलाई मैले मात्रै संरक्षण गर्ने होइन । यसमा सबैको जिम्मेवारी हुनुपर्छ ।
० महागठबन्धन बन्नुपर्ने मधेशी जनताको आकांक्षा त पूरा भएन नि ?
— सत्य कुरा गर्दा कतिपय साथीलाई रिस पनि उठ्न सक्छ । मधेशी जनता अत्यन्त मर्माहत भएका छन् । नेताहरूले आन्दोलन तुहाइदिएको भन्ने आरोप लागिरहेको अवस्था छ । यो अन्तरवार्ता मधेशवाणीमा प्रकाशित छ ।