man-in-prison

हुलाकी न्यूज, सिरहा, ६ फागुन । विभिन्न मुद्दाका फरार एक अभियुक्तलाई सिरहा प्रहरीले विहिबार सार्वजनिक गरेको छ ।
गएको मंगलबार हतियार सहित पक्राउ परेका रामपुरबिर्ता–३ घर भई हाल मिर्चैया नगरपालिका–१ मा बस्दै आएका २८ वर्षीय धनेश्वर भनिने दीपेन्द्रकुमार यादवलाई प्रहरीले विहिबार सार्वजनिक गरेको हो ।

लुकीछिपी नेपाल प्रवेश गर्ने क्रममा सिरहा नगरपालिका १५ पटेर्वाबाट विशेष सुराकीको आधारमा यादवलाई एक पेस्तोलसहित पक्राउ गरी अनुसन्धानपश्चात् आज सार्वजनिक गरिएको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

एसपी ज्ञवालीका अनुसार पक्राउ परेका यादव यसअघि समेत हातहतियार खरखजाना मुद्दामा एक वर्ष कैद भुक्तान गरी रु ८० हजार जरिवाना तिरी २०७१ कात्तिक १ गते जिल्ला कारागार सिरहाबाट रिहा भएका थिए ।

उनले २०७२ जेठ १३ गते साँझ ७ बजेको समयमा मिर्चैया नपा–११ स्थित कमला सिँचाइ नहरको नजिक सोही नहरका ठेकेदार अजय पौडेललाई गोली हानी ज्यान मार्ने प्रयास गरेका थिए । सो मुद्दा पनि यादवमाथि परेकाले सोही दिनदेखि उनी लुकीछिपी बस्दै आएका थिए ।

यादवले पहिलेदेखि नै विभिन्न व्यक्तिलाई पटक पटक फोन गरी धम्क्याउने तथा आफूलाई भूमिगत गिरोहका नाइकेको रुपमा सिरहा जिल्लामा त्रास फैलाउँदै आएको सिरहा प्रहरीको दाबी छ ।

उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको एसपी ज्ञवालीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.