
हुलाकी न्यूज, जनकपुर, ६ फागुन । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जानकी मेडिकल कलेजको एमबिबीएस प्रथम वर्षमा करिब ९ प्रतिशत विद्यार्थी मात्र सफल भएका छन् ।
नियमित तथा आंशिक गरी परीक्षामा सहभागी ८० जना विद्यार्थीमध्ये सातजना मात्र उत्तीर्ण भएको क्याम्पस प्रशासनले जनाएको छ । एमबिबीएस प्रथम वर्षको ११ औँ समूहको परीक्षाफलमा ८ दशमलव ७५ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् ।
कलेजको यस्तो परिणाम आएपछि रु ३५ देखि ४० लाखसम्म खर्च गरेर चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थी अहिले चिन्तामा परेका छन् ।
मेडिकल कलेजका व्यवस्थापन समितिका पूर्वअध्यक्ष ओपी पाण्डेलगायत व्यवस्थापकले शिक्षक, कर्मचारीको तलबभत्ता नियमित भुक्तान नगर्दा विगतमा दुई वर्षसम्म क्याम्पस अस्तव्यस्त बनेको थियो ।
पटक पटकको हड्तालले गर्दा पनि विद्यार्थीको अधिकांश समय आन्दोलन मै बितेको थियो । पूर्व सञ्चालकमध्येका केहीमाथि अहिले पनि ठगी मुद्दा चलिरहेको छ भने केही फरार छन् । पाण्डेले बिक्री गरेपछि गत असार २७ देखि धनबहादुर शेरचनको नेतृत्वको नयाँ व्यवस्थापनमा कलेज सञ्चालन भइरहेको छ ।
नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हालेयता पठनपाठन र भौतिक सुविधामा सुधार भएको प्रशासन शाखाका राकेश ठाकुरको दाबी छ । उनका अनुसार कक्षा नियमित छन् भने ५३५ शैयाको अस्पताल पनि सञ्चालन गरिएको छ ।
भौतिक र शैक्षिक पूर्वाधारमा सुधार भएपनि दुई वर्षदेखि यस कलेजले छात्र भर्ना गर्ने अनुमति कोटा नपाएको कलेज प्रशासकको गुनासो छ । प्रशासक सुशील झाले जनकपुर उपमहानगरपालिकामा सिटी अस्पतालसँगै आइसियु तथा सिसियु सञ्चालन भएको बताए । उनले २५ सङ्काय थपिएको जनाउँदै अब पठनपाठन नियमित भएपनि विद्यार्थी कोटा रोकिएको गुनासो गरे ।



