
अशिष गुप्ता, नेपालगन्ज ६ फागुन । नेपालगन्ज उपमहानगरपालिका महिनौंदेखि कार्यकारी अधिकृत विहिन रहेको छ । तत्कालिन कार्यकारी अधिकृत विष्णुप्रसाद भुसाललाई गत पुस २९ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा हुँदा उपमहानगरपालिका प्रमुख विहिन भएको हो ।
मन्त्रालयले अहिलेसम्म भुसालको ठाउँमा नयाँकार्यकारी अधिकृत पठाउन सकेको छैन । कार्यकारी अधिकृत नहुँदा उपमहानगरपालिकाको महत्वपुर्ण कामकाज ठप्प छ । एशियाली विकास बैंकको सहयोगमा उपमहानगरपालिकाले सञ्चालन गरेको एकिकृत शहरी विकास आयोजनाको कामपनि प्रभावित भएको छ ।
यस्तै नक्सापास, विभिन्न सानाविकास योजनाको टेण्डर प्रक्रिया, खुल्ला दिसामुक्त क्षेत्र घोषणा, आर्थिक कारोबार लगायतका काम ठप्प भएको उपमहानगरपालिकाका सुचना अधिकारी ओवी राज आचार्यले जानकारी दिए ।
उपमहानगर क्षेत्रलाई फागुन मसान्तभित्रमा (ओडिएफ) खुलादिसामुक्त घोषणा गर्ने योजना अगाडी बढाइरहेका बेला लामो समय सम्मकार्यकारी अधिकृत नहुँदा उक्त अभियान प्रभावित भएको उनले बताए ।



