
हुलाकी न्यूज, जनकपुरधाम ५ फागुन । धनुषा जिल्लाको विकट गाविस मध्येको एक गाविस हो चक्कर । चक्कर गाविसमा कुल सात सय हेक्टर जग्गा रहेको छ । सिंचाई कार्यालयका अनुसार सात सय मध्ये ६ सय ३३ हेक्टर जमिनमा खोती गरिन्छ ।
६ सय ३३ हेक्टर जमिनमा खेती गरिएपनि ४ सय ३० हेक्टरमा मात्र सिंचाई भएको छ । दुई सय ३ हेक्टरमा सिंचाई पुगेको छैन अर्थात उक्त गाविसको एक तिहाई खेती योग्य जमिनमा पानी पुगेको छैन ।
तर ओली सरकारका सिचाई मन्त्रीले बुधबार उक्त गाविसलाई ‘पूर्ण सिंचित गाविस घोषणा’ गरेका छन् ।
सिंचाई मन्त्री उमेश यादवले एक तिहाई पानी नपुगेको गाविस चक्करलाई पूर्णसिंचित गाविस घोषणा गरेको हो ।
बुधबार उक्त गाविस मै सिंचाई विकास डिभिजन धनुषा, भूमिगत ज.सि.वि. डिभिजन महोत्तरी र कमला हर्दिनाथ सि.ब्य.डि धनुषाद्वारा आयोजित ‘माननीय सिंचाई मन्त्री श्री उमेश यादव ज्यूबाट चक्कर गाविस पूर्ण सिंचित क्षेत्र घोषणा कार्यक्रम’मा सहभागी भएर मन्त्रीले घोषणा गरेको हो ।

उक्त कार्यक्रममा एमाओवादीका केन्द्रिय सदस्यसमेत रहेका मन्त्री यादवले हाल सिंचाई मन्त्रालयबाट समृद्ध तराई–मधेश विशेष सिचाई कार्यक्रम, अवको आर्थिक वर्षमा १ निर्वाचन क्षेत्रमा एक सिंचित गाविस र आगामी आर्थिक वर्षमा एक निर्वाचन क्षेत्रमा ३ सिंचित गाविस बनाउने बताए । तराई बाढी व्यवस्थापन तथा घरपरिवार संरक्षण कार्यक्रम ल्याएको जानकारी गराउदै सुविधानहरुको भरपुर रुपमा उपयोग गर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा संसद रामकृष्ण यादवले चक्कर गाविस देशमै पहिलो पटक पुर्ण सिंचित क्षेत्र घोषणा भएकोले तराई मधेश र देशकै नमुना गाउँको रुपमा विकास गरेर देखाउने चुनौति थपिएको दाबी गरे । संसद यादवले सोही मञ्चबाट संसदीय विकास कोषबाट २ लाख रुपैयाँ सोही गाविसको खानेपानी विकासमा खर्च गरिने घोषणासमेत गरे ।
एमाओवादीका केन्द्रिय सदस्य रामचन्द्र मण्डलले कृषिलाई उद्योगसंग जोडेर लगिए देशमा बेरोजगारी समस्या न्युन हुनुको साथै किसानहरुलाई आत्मनिर्भर बन्न सहयोेग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा एमाओवादी नेत्री बोधमाया यादव, जिल्ला ईन्चार्ज झल्कु यादव, श्याम यादव सहितका वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।



