
हुलाकी न्युज, महोत्तरी, ५ फागुन । महोत्तरीको गौशाला बजारस्थित एक कपडा पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
गएराति गौशाला बजारस्थित हरिओम वस्त्रालयमा आगलागी हुँदा पसलमा रहेको रु १० लाख बराबरको लत्ताकपडा जलेर नष्ट भएको छ ।
पसलमा पूजा गर्न बालिएको अगरबत्तीबाट सल्किएको आगोले पसलमा रहेको सम्पूर्ण कपडा जलेको पसल मालिक सरोजकुमार साहले जानकारी दिए ।
स्थानीयवासी र प्रहरीको अथक प्रयासपछि आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
गौशाला नगरपालिकामा दमकल नभएको कारण आगो समयमै नियन्त्रणमा लिन कठिनाइ भएको थियो ।
गौशाला नगरपालिकामा वारुणयन्त्र नहुँदा यस क्षेत्रमा आगलागीका कारण पटक पटक लाखौँको क्षति हुँदै आएको छ ।



