
हुलाकी न्यूज, विरगञ्ज, ३ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जस्थित नारायणी यातायात कार्यालयमा धर्ना दिने बताएको छ ।
सोमबार वीरगन्जस्थित टिवडेवाल धर्मशालामा सम्पन्न भएको मोर्चाको बैठकले मधेस आन्दोलनको भावना विपरित यातायात कार्यालयले जरिवाना शुल्क लिएर मधेसी जनतालाई अनावश्यक दुःख दिएको विरोधमा मगंलबार कार्यालय अगाडि एक घन्टा धर्ना दिने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले बताए । ‘सदिऔंदेखि मधेसी जनतासँग विभेद हँुदै आएको छ र यो सरकार पनि मधेसी विरोधी रहेको यो घटनाले प्रमाणित गरेको छ’ उनले भने ।
नयाँ संविधानको विरोधमा लगभग ६ महिनादेखि भइरहेको आन्दोलनका कारण मधेशका सरकारी कार्यालयहरु बन्द रहेपनि मधेसी जनतालाइ अनावश्यक दुःख दिनको लागि सवारी साधनहरुमा सतप्रतिशत जरिवाना लिने कार्य मधेस विरोधी रहेको मोर्चाको ठहर रहेको छ ।
धर्नाबाट पनि जरिवाना लिने कार्य नरोकिए अझ शसक्त आन्दोलन गरिने मोर्चाले बताएको छ ।



