
हुलाकी न्यूज, जलेश्वर २ फागुन । मधेश आन्दोलनको क्रममा महोत्तरी जिल्लामा भाद्र २५ गते हत्या गरिएको सशस्त्र प्रहरीका असई थमन विकको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकाहरुमा जलेश्वर ३ निवासी २५ वर्षिय संजय कुमार साह, जलेश्वर २ का ३० वर्षीय प्रदिप साह माझी र फुल्हटटा प्रकौली गाविस ३ हाल नगरपालिका वडा नं. १७ का मोहन ठाकुर रहेका छन् ।
उनीहरुले आरोप अस्विकार गरेपनि अनुसन्धानबाट उनीहरुको नाम आएकोले समातिएको प्रहरी उपरीक्षक जनक भटटराईले हुलाकी न्यूजलाई बताए । जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान जारी रहेकोले थप कतिजना यसमा पक्राउ पर्ने भन्ने बारे अहिल्यै भन्न नमिल्ने प्रहरी उपरीक्षक भट्टराईले जनाएका छन् ।
यता शुक्रबार साँझ नै तीनैजनालाई पक्राउ गरेपछि स्थानीय नेताहरुमा अन्यौलता बढेको छ ।



