
हुलाकी न्यूज, विराटनगर, २ फागुन । मानसिक रोगी भएपछि विगत तीन वर्षदेखि ओछ्यानमै बाँधेर राखिएकी मोरङ अमरदह–६ की एक वृद्धाको मानवअधिकारकर्मी र स्थानिय प्रशाशनले शुक्रबार उद्धार गरेर विराटनगर पु¥याएको छ ।
मानवअधिकारकर्मी र स्थानीय प्रशासनको टोलीले ६० वर्षीया वृद्ध मजैतुन खातुनको उद्धार गरेर उपचारका लागि कोशी अञ्चल अस्पतालको मानसिक विभागमा भर्ना गरिदिएको हो । उनको उपचार अस्पतालले निःशुल्क गरिदिने भएको छ ।
परिवारले उनलाई मानसिक रोग लागेपछि हेरचाह गर्न समस्या भएको भन्दै घरको ओछ्यानमै डोरीले बाँधेर राखेको थिए । अमरदह– ६ मा बस्ने ज्याला मजदुरी गर्दै आएका ७२ वर्षीया झुलन मियाँकी श्रीमती मजैतुनलाई तीन वर्षदेखि मानसिक समस्या देखिन थालेको थियो ।
दैनिक खान–लाउन समस्या भएको परिवार भएकाले खातुनले राम्रोसँग खानसमेत पाएकी थिइनन् । पोषणयुक्त खानाको अभावमा शरीर जीर्ण भएको चिकित्सकले बताएका छन् । उनको शरीरमा चोट देखिएका छन् । उनी उठ्न नसक्ने अवस्थामा भएको अधिकारकर्मी मञ्जिता उपाध्यायले पत्रकारलाई बताइन् ।
(File Photo)



