
हुलाकी न्यूज, काठमाडौं २ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रबार मध्यराती चीन र हङकङको भ्रमणका लागि उडेका छन् ।
सरकार र मधेशी मोर्चाबीच सहमतिको खाका तयार भइरहेका बेला अध्यक्ष यादव चीन भ्रमणमा गएका हुन् ।
फोरम नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पाले दिएको जानकारीअनुसार अध्यक्ष यादव चीन र हङकङको भ्रमणका लागि शुक्रबार राती पौने १२ बजे प्रस्थान गरेका छन् ।
शेर्पाका अनुसार अध्यक्ष यादवसँगै नेपाल मगर संघका अध्यक्ष महेन्द्र थापा मगर, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ र वरिष्ठ पत्रकार लालबहादुर गुरुङ हङकङका लागि प्रस्थान गरेका छन् ।
हङकङमा आइतबार हुने नेपालका प्रथम सहिद ल्या.लखन थापा मागरको १३९ स्मृति दिवसको कार्यक्रममा उनीहरु सहभागी हुनेछन् ।
समाचार श्रोतका अनुसार हङकङको कार्यक्रम पछि अध्यक्ष यादवसहितको टोली चीनीया अधिकारीहरुसँग भेटघाट गर्नेछन् ।
यता यादवका प्रेस संयोजकले जारी गरेको विज्ञप्तिमा अध्यक्ष यादव हङकङको कार्यक्रममा मात्र जान लागेको जनाइएको छ ।



