
हुलाकी न्यूज, कलैया १ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु मधेशमा दुई प्रदेश हुनु पर्ने तर्क पछिल्लो समय गर्न थालेका छन् । तर अर्को एक पक्षले अहिले पनि समग्र मधेश एक प्रदेशको माग गर्दैछ ।
मधेश आन्दोलन पहिलो र दोस्रोको माग अनुसार एक मधेश प्रदेश माग गरिदै आएको छ ।
मधेशी जनताको माग अनुरुप अखण्ड मधेश निर्माण अभियान जारी राखिएको छ ।
नेपाल सद्भावना पार्टी(गजेन्द्रवादी)ले शुरु गरेको “अखण्ड मधेश निर्माण अभियान” को तहत “संविधान र मधेश” विषयक विचार गोष्ठी बाराको कलैयामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष विकास तिवारीले अखण्ड मधेश नभए अखण्ड नेपाल पनि रहन नसक्ने दाबी गरे । उनले जसरी पनि समग्र मधेश एक प्रदेश हुनु पर्ने बताए ।
समग्र मधेश एक प्रदेश भए भोलिका दिनमा मधेशीहरु आफ्नो अनुकुल अन्य क्षेत्रहरु मिलाउन सक्ने तिवारीको दाबी रहेको छ ।
तिवारीले “प्रादेशिक सिमांकन” को सवालमा “अखण्ड मधेश” (समग्र) मधेश एक स्वायत्त प्रदेश) को निर्माण भएमा मात्र मधेशी समुदाय देश र मधेशको मालिक बन्न सक्ने विचार राखे । संविधानमा अखण्ड मधेश प्रदेशको स्थापना हुनु पर्ने भन्दै पार्टीले “अखण्ड मधेश निर्माण अभियानको शुरुवात गरेको तिवारीले प्रष्ट पारे ।



