
हुलाकी न्यूज, काठमाडौं १ फागुन । संघीय समाजवादी फोरम नेपाको पछिल्लो केन्द्रीय समिति बैठकमा असहमित राख्ने दुई जना नेतालाई पार्टीले निष्काशन गरेको छ ।
पार्टीको विधान पुर्ण समावेशी समानुपातिक हुनु पर्ने माग गर्ने नेता रिजवान अन्सारीसहितका नेताहरु शुक्रबार साँझबाट निकालिएका हुन् ।
नेता अन्सारीले निर्माण गरेको संघीय नव विचार समूहले मधेश आन्दोलनमा उपलब्धीभन्दा बढी क्षति भएको भन्दै पार्टी नेतृत्वलाई आत्मालोचना गर्न मागसमेत गरेको थियो ।
फोरम नेपालले पार्टी विरुद्ध गतिविधि गरेको आरोप लगाउँदै केन्द्रीय सदस्य रिजवान अन्सारी र राजकुमार यादवलाई निष्काशन गरेको जनाएको छ ।
शुक्रबार राति पार्टीका महासचिव रणध्वज कन्दङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् दुई केन्द्रीय सदस्यलाई निष्काशित गरिएको जनाइएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सदस्य रिजवान अन्सारी र राजकुमार यादवले पार्टीविरोधी गतिविधि गरेको हुनाले पार्टीको निर्णयबमोजिम आजैको मितिदेखि निजहरुलाई निष्काशन गरिएको यसै विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको छ ।’



