Dalit-patrakar-sangh

हुलाकी न्यूज, काठमाडौं २९ माघ । पेसागत हकहितका लागि नेपाल भर छरिएर रहेका दलित समुदायका पत्रकारहरु संगठित भएका छन् ।

शुक्रबार काठमाडौंमा भएको भेलाले छाता संगठनको रुपमा ११ सदस्यीय नेपाल दलित पत्रकार संघ गठन गरेको छ । नागरिक दैनिकमा कार्यरत पवित्रा सुनारको अध्यक्षता गठन भएको समितिमा उपाध्यक्षमा गोपाल बराइली (कमाण्डर पोष्ट), महासचिवमा लक्ष्मण दर्नाल (गोरखापत्र), सचिवमा सन्तोष गन्धर्व (नेपालवाणी नेटवर्क) र कोषाध्यक्षमा बुद्धि विश्वकर्मा (रेडियो हिमालय) लाई चयन गरेको छ ।

भेलाले विनोद विश्वकर्मा (एविसी टेलिभिजन), कृष्ण रिजाल (नया पत्रिका), अनिल परियार (रेडियो कान्तिपुर), विरु नेपाली (रेडियो जागरण), कमला रसाइली (रेडियो नेपाल) र विश्वास खड्गाथोकी (नयाँ पत्रिका) लाई सदस्यमा चयन गरेको छ ।

भेलाले विभिन्न जिल्ला शाखा गठन गरी ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको दलित अनलाईनले जनाएको छ । भेलाले देशभरका दलित समुदायका दलित पत्रकारलाई संगठित गरी उनीहरुको पेशागत हकहित र संरक्षणमा लाग्ने निर्णय गरेको छ । यसअघि २०६१ मा पनि दलित पत्रकारहरु संगठित हुने प्रयास गरेका थिए तर सो संस्थाले स्थायीत्व पाउन सकेको थिएन ।

दलित पत्रकार संघका पदाधिकारी तथा सदस्यहरुलाई मधेशी पत्रकार संघका सचिव बीपी साहले शुभकामना दिएका छन् । आगामी दिनमा मधेशी पत्रकार संघले दलित पत्रकार संघसँग सहकार्य गरेर पेसागत हकहितका लागि काम गर्ने सचिव साहले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.