
हुलाकी न्यूज, जनकपुरधाम, २९ माघ । धनुषाको वीरेन्द्र बजारमा नेपाली कांँग्रेसका नेता नसिम राइनमाथि गोली हानेको घटनासँग सम्बन्धित रहेको भनि पक्राउ गरीएका दुइ जनालाई धनुषा प्रहरीले शुक्रबार मुद्दा चलाएको छ ।
घटनामा संलग्न रहेको आशङ्कामा बिहीबार धनुषाको वीरेन्द्र बजारबाट प्रमोदकुमार पूर्वे र योगेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए ।
गत शनिबार बिहान करिब ८ बजे नेता राइनलाई वीरेन्द्र बजारमा मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेका थिए । पिँठ्युमा गोली लागेका राइनको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
यसैगरी धनुषाको बालाबाखरमा माघ २३ गत्ते गोली प्रहारबाट हत्या गरिएका ५० वर्षीय नेपाली काँग्रेसका अर्का स्थानीय नेता राजेन्द्रप्रसाद यादवको हत्याको घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।



