Jhadu Julush
हुलाकी न्युज, जनकपुरधाम, २४ भदौ । अधिकार प्राप्तिको आन्दोलनमा समर्थन जनाउँदै जनकपुरका महिलाहरुले झाडु जुलुस प्रदर्शन गरेका छन् । सरकारले मधेशको आन्दोलन दबाउन सर्वसाधारणमाथि बन्दुकको गोली बर्साएको भन्दै उनीहरुले गृहमन्त्री वामदेव गौतमलाई खबरदारी गर्न झाडु जुलुस निकालेका हुन् ।

बुधवार महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रहरीले निहत्था सर्वसाधारणमाथि गोली प्रहार गरी हत्या गरेको भन्दै उनीहरुले गृहमन्त्री गौतमविरुद्ध चर्को नारावाजी गरेका छन् । महिलाहरुले प्रहरी प्रशासनलाई सचेत हुन आग्रह गर्दै सर्वसाधारणमाथि अन्याय जारी राखे नराम्रो हुने चेतावनीसहित झाडु जुलुस प्रदर्शन गरेका हुन् ।

जनकपुरको जनक चौकबाट निस्केको जुलुस राम चौक, सोनारपट्टी, जानकी चौक हँुदै नगरको अन्य भागको परिक्रमा गरेर जनक चौकमा आई कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले गृहमन्त्री गौतमले बन्दुकको आडमा सर्वसाधारणलाई दबाउन नसक्ने बताए । उनीहरुले मधेशको अधिकार नदिएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

यता, धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जनकपुरमा कर्फ्यू लगाउन सक्ने भनी चेतावनी दिएपनि प्रदर्शनकारीहरु बिहानैदेखि चौक चौकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । सर्वसाधारण पनि निर्वाध रुपमा आवत जावत गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.