Madheshi-mahagathabandhan

हुलाकी न्यूज, काठमाडौं २९माघ । मधेशमा ‘महागठबन्धन’का निर्माणका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनका सात दलबीच छलफल जारी रहेको छ ।

शुक्रबार तीन बजेदेखि तराई–मधेश लोकतान्त्रिक पार्टी कार्यालय विजुली बजार काठमाडौंमा बैठक बस्ने भनिए थियो । तर तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई विराटनगरबाट काठमाडौं फर्किन ढिलो भएपछि बैठक ढिलो गरी सुरु भएको छ ।

अहिले तमलोपा कार्यालयको सहिद मेमोरियल हलमा मधेशवादी सात दलबीच छलफल जारी रहेको छ ।

छलफलमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव सहभागी रहेका छन् ।

तमलोपा अध्यक्ष ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बैठकमा आउने क्रममा रहेको बताएका छन् ।

सातवटै दलका दोस्रो तहका नेताहरु पनि सहभागी रहेका छन् ।

बैठकमा सहभागी नेताहरुले हुलाकी न्यूजलाई दिएको जनकारीअनुसार आजै बैठकबाट सम्पूर्ण विषयमा छलफल गरी साँझसम्म घोषणा गरिने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.