
हुलाकी न्यूज, भैरहवा, २९ माघ । कपिलवस्तुमा नेपाली कांग्रेसको एक कार्यकर्ताको गोली हानि हत्या गरिएको छ । मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नगरपालिका १ पिपरा चोकका राजेश सेन रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए ।
बिहिवार साँझ मोटरसाइकलमा आएका दुई जना अपरचित व्यक्तिले ३७ वर्षीय सेनको गोली हानि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार मृतक सेन साँझ साढे ७ बजे कांग्रेस सम्बद्ध व्यक्तिहरुसँग चार नम्बरको पिपरा चोकमा बसिरहेको अवस्थामा बुटवल तर्फबाट मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले सेनमाथि गोली चलाएका थिए ।
छातिमा गोली लागेर घाइते भएका सेनको उपचारको क्रममा बिहिवार राति नै लुम्बिनी अंचल अस्पतालमा मृत्यु भएको थियो ।
साँझको समयमा अँध्यारो भइसकेकोले गोली हान्ने व्यक्तिको हुलिया, मोटरसाइकल नम्बर केही नखुलेको भएपनि बाणगंगा नपा १ चार नम्बर पिपरा चोकका एक व्यक्तिलाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको निमित्त प्रमुख विष्टले बताएका छन् । घटनामा स्थलमा ३ वटा गोलीको खोका भेटिएको छ ।
विभिन्न स्रोतबाट प्राप्त सुचनाको आधारमा घटनाको विभिन्न कोणबाट थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टल बताए ।
सेन हत्याको विरोधमा शुक्रबार कपिलवस्तुका विद्यालय तथा यातायात समेत बन्द गराइएको छ । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै विरोधमा उत्रिएका छन् ।
तरुण दल र नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताको विरोध प्रदर्शनका कारण सदरमुकाम तौलिहवा, वाणगङ्गा, गजेहडा, ओदारीलगायतका शैक्षिक संस्था पूरै बन्द भएका छन् भने विरोधका कारण तौलिहवा जितपुर सडकखण्डमा सवारी साधन पनि चल्न सकेका छैनन् र वाणगङ्गा, गजेहडा क्षेत्रका बजार पनि बन्द रहेका छन् ।
नेपाली कांग्रेस, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । सभासद् सुरेन्द्रराज आचार्य र अतहर कमालले पनि घटनामा संलग्नको पहिचान गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग गरेका छन् ।



