Upendra-matrika-jp
हुलाकी न्यूज, काठमाडौं २८ माघ ।
तराई–मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आफ्नो फेसबुकमा फोरम अध्यक्ष उपेन्द्र यादवका कारण आफुहरु ‘महागठबन्धन’ निर्माण प्रक्रियामा सहभागी हुन नसकेको टिप्पणी गरेका छन् ।

गुप्ताले लेखेका छन्,‘महागठबन्धन’ निर्माण प्रकृयामा जेपी गुप्ता नेतृत्वको तमरा अभियान र मातृका यादव नेतृत्वको मधेशी संयुक्त जनआन्दोलन समितिलाई निषेध गरिएको छ । आज माघ २८ गते तमलोपा कार्यालयमा बसेको बैठकमा हृदयेश त्रिपाठीले राजकिशोर यादव, अनिल झा र केशव झालाई जानकारी गराउँदै भन्नु भयो–जेपी गुप्ता नेतृत्वको तमरा अभियान र मातृका यादव नेतृत्वको मधेशी संयुक्त जनआन्दोलन समितिलाई उपेन्द्र यादवले मान्नु भएन ।’

गुप्ताले अगाडि लेखेका छन्,‘मधेशी दलको खेमामा हुन लागेको यस निर्णयबाट वास्तविक तथा मधेशी जनताले अपेक्षा गरेको बहु प्रतिक्षित महागठबन्धन बन्यो वा बनेन पछिको समयले बताउँला । तर, उपेन्द्र यादव जीले मधेशमा अपनाएको निषेधको राजनीति भने अहिले चल्यो ।’

यसअघि पनि कयौं पटक मधेशी मोर्चामा अन्य दललाई समावेश गर्ने प्रयास भएको थियो तर त्यो सम्भव भएको थिएन । बिरगञ्ज र राजविराज बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मातृका यादवसहित जेपी गुप्तालाई पनि बोलाएका थिए ।

त्यसबेला फोरम अध्यक्ष उपेन्द्र यादवले असहमति जनाएपछि उनीहरु मोर्चामा अटाउन नसकेको मोर्चाका नेताहरुले बताएका थिए ।

त्यती मात्र नभएर आन्दोलनमा राजविराजमा प्रहरीद्वारा मारिएका राजिव राउतको श्रद्धाञ्जली सभामा पनि विवाद भएको थियो । मातृका यादव र गुप्तासहित गठबन्धनका नेताहरु त्यहाँ पुगेपछि उपेन्द्र यादवले मञ्चमा उनीहरुलाई आउन दिएका थिएनन् । त्यसकारण श्रद्धाञ्जली कार्यक्रमसमेत ढिलो भएको मातृका यादवले बताएका थिए ।

त्यसपछि मातृका यादव र गठबन्धनले बेग्लै कार्यक्रम गर्नु परेको थियो । माघ ५ गते लहानमा मधेश बलिदानी दिवसमा पनि उपेन्द्र यादवकै कारण गठबन्धनका नेताहरुलाई मञ्चमा नबोलाइएको गठबन्धनका नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.