
हुलाकी न्यूज, काठमाडौं २८ माघ । संसदमा रहेका सात वटा मधेशवादी पार्टीको मोर्चा बन्न लागेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका चार पार्टी र संघीय समावेशी मधेशी गठबन्धनमा रहेका तीन पार्टी मिलेर मोर्चा बन्ने भएको छ । तर बन्न लागेको मोर्चाको नाम शुक्रबार मात्र तय गरिनेछ ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाका अनुसार शुक्रबार बस्ने मोर्चा र गठबन्धनको बैठकले अन्य बाँकी कुराहरु तय गर्नेछ ।
विहीबार तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले मोर्चा विस्तार गरि अगाडि बढ्ने निर्णय भएकोको मार्चाका एक घटक सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले हुलाकी न्यूजलाई बताए ।
कर्णका अनुसार तमलोपाको कार्यालयमा बसेको बैठकमा मधेशी मोर्चाको तर्फबाट कर्णसहित तमलोपाका उपाध्यक्ष हृदेश त्रिपाठी, तराई–मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय सहभागी थिए ।
त्यस्तै गठबन्धनको तर्फबाट नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका केशव झा थिए ।
नेसपाका अध्यक्ष झाका अनुसार मोर्चा निर्माणको अन्तिम टुँगो शुक्रबार लाग्नेछ । त्यसपछि तीन बजे पत्रकार सम्मेलन गरी घोषणा गरिनेछ ।
सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनलाई निर्णायक बनाउन महागठबन्धन बनाउने प्रस्ताव गरेका थिए । महतोलाई गठबन्धनका तर्फबाट तराई–मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले सहयोग गरेका थिए ।
गठबन्धनकै एक घटक तमरा अभियान, मातृका यादवको राष्ट्रिय मधेश आन्दोलन समिति, संघीय मधेशी मोर्चालाई अहिलेको मोर्चामा समावेश गरिएको छैन ।



