
हुलाकी न्यूज, बीरगञ्ज २८ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटकहरु बिच अहिले पनि कार्यकर्ता तानातान जारी रहेको छ ।
मधेशी मोर्चाका घटकहरुबीच एकले अर्काको नेता–कार्यकर्ता तानातान नगर्ने मौखिक सहमति भएपनि मोर्चाका घटकहरुले एकले अर्काको कार्यकर्ता पार्टीमा प्रवेश गराउँदैछ ।
बुधबार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले महेन्द्र यादव नेतृत्वको तराई–मधेश सद्भावना पार्टीका एक जना केन्द्रीय सदस्यसहित कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराएको छ ।
तराई–मधेश सद्भावना पार्टीका केन्द्रीय सदस्य प्रयाग राय यादवसहित दुई सय कार्यकर्तालाई फोरमले पार्टी प्रवेश गराएको हो ।



