हुलाकी न्यूज, काठमाडौं, २४ भदौ । मधेशमा जारी आन्दोलनमा भइरहेको प्रहरी दमनको विरोधमा मधेशी अगुवाहरुले काठमाडौंमा धर्ना दिएका छन् । बिहिबार पुलचोकस्थित युएन हाउसको अगाडि नागरिक समाज, बुद्धिजिवी, पत्रकारलगायतकाले एक घण्टा धर्ना दिएका हुन् ।
धर्नामा रहेका नागरिक अगुवाहरुको कुरा सुन्न आएका युएनका प्रतिनिधि रामबाबु शाहसमक्ष आफ्ना कुरा राख्दै तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)का अध्यक्ष दिपेन्द्र झाले मधेशमा प्रहरीले चरम दमन गरिरहँदा पनि युएन चुप लागेर बसेको गुनासो गरे ।
उनले युएनले आफ्नो प्रतिक्रिया दिनुपर्ने या त यस विषयमा आफू केही नबोल्ने भनी प्रष्ट्याइदिनुपर्ने धारणा राखे ।
अध्यक्ष झाले राजनीतिक मुद्दामा केही नबोलेपनि संयुक्त राष्ट्र संघले कम्तीमा मानवअधिकार उल्लंघन नगर्न अपिल गर्न सक्ने बताए । उनले संयुक्त राष्ट्र संघको मौनताले उसको समर्थन राज्यलाई भएको देखिने टिप्पणी गरे ।
धर्ना कार्यक्रममा उपस्थित रहेका राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण हाछेथुले राष्ट्र संघका प्रतिनिधिसमक्ष आफ्ना कुरा राख्दै राज्यले मधेशीको अस्तित्व स्विकार्नुपर्ने बताए । उनले मधेशीले अधिकारका लागि लडार्इं गरिरहँदा राज्यले चरम दमन गरेको भन्दै राज्यको आतंकले राष्ट्रिय अखण्डतामाथि प्रहार गर्ने बताए । हाछेथुले मधेशमा अहिले ‘स्टेट टेरोरिजम’को अवस्था रहेको भन्दै त्यसका विरोधमा राष्ट्र संघले आफ्नो धारणा राख्नुपर्ने विचार राखे ।
नागरिक समाज र अगुवाहरुको कुरा सुनेपछि राष्ट्र संघका प्रतिनिधि शाहले आफूले यी कुराहरु उच्च तहसम्म पु¥याउने आश्वासन दिए । उनले राष्ट्र संघले मधेशको मुद्दा र अवस्थाबारे गम्भीरतापूर्वक अनुगमन गरिरहेको बताए । शाहले अहिले राज्य पक्ष लगायत सबैसँग छलफल गरिरहेको बताउँदै मधेशको अहिलेको अवस्थालाई लिएर चिन्तित रहेको जनाए ।
कार्यक्रममा प्रा. कृष्ण हाछेथु, अधिवक्ता दिपेन्द्र झासहित बिजयकान्त कर्ण, तुला नारायण साह, उज्वल प्रसाईं, रीता साह, दिग्वीजयनाथ मिश्र, सिताराम अग्रहरीलगायतका व्यक्तिहरुको उपस्थिति थियो ।



