
हुलाकी न्यूज, काठमाडौं २६ माघ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यस्थित गुपचुप राखिएको कारण मृत्यु भएको उनका निजी चिकित्सकले बताएका छन् । काँग्रेसको महाधिवशेनलाई मध्यनजर गरी कोइराला विरामी भएको कुरा बाहिर ल्याइएन ।
कोइराला विरामी भएको समाचार बाहिर आए उनी जित्न नसक्ने भन्दै कोइराला निकट नेताहरुले उनलाई अस्पताल नलगेको उनका निजी चिकित्सक डा.कबीरनाथ योगीले बताएका छन् ।
सकारात्मक समाचार अनलाईनमा प्रकाशित समाचारमा भनिएको छ, पूर्व प्रधानमन्त्री तथा देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन आफ्नै निवासमा भएको छ । दुईतीन किलोमिटरको दूरीमा नेपालकै ठूलो अस्पतालहरु भए पनि कोइरालाको निधन किन घरमै भयो भन्ने प्रश्न उठ्न थालेको छ । ८९ वर्षीय कोइराला विगतमा क्यान्सर रोगी थिए । बुढ्यौली उमेरसँगै उनलाई क्रोनिक ब्रोङकाइटिस थियो । यसबीचमा निमोनिया पनि भएको उनका निजी चिकित्सक डा। करबीरनाथ योगीले रेडियो नेपाललाई बताएका छन् ।
कांग्रेसको आसन्न महाधिवेशनमा सुशील पुन सभापतिको उम्मेदवार बन्ने प्रयाशमा रहेका थिए । यद्यपि घोषणा भने गरेका थिएनन् । गत सातादेखि उनको स्वास्थ्य खराब भएको थियो तर यो कुरा बाहिर ल्याइएन । घरमै उनलाई अक्सिजन दिएर राखिएको डा। योगीले बताएका छन् । उनका अनुसार कोइरालालाई इनजेक्सनबाट एन्टिवायोटिक दिइएको थियो । इन्जेक्सनबाट एन्टिवायोटिक दिनु गम्भीर स्वास्थ्य अवस्ताको द्योतक भएको कतिपय चिकित्सकहरुले बताएका छन् । शनिबार कोइरालालाई ओम अस्पताल लगेर उपचार गरिएको पनि योगीको भनाई छ ।
कोइरालाले केही दिनदेखि हिँडडुल गर्न छाडिसकेका थिए । महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहेका कोइरालाका लागि जिल्ला अधिवेशनहरुमा पुग्नु अनिवार्य थियो । टाढाका जिल्ला पुग्न नसके पनि काठमाडौंको जिल्ला अधिवेशनमा समेत उनी जान सकेनन् । यसबाट उनको स्वास्थ्य कस्तो भइसकेको थियो भन्ने प्रष्टिन्छ । स्वास्थ्य स्थिति कमजोर भएको सार्वजनिक भएमा महाधिवेशनमा उम्मेदवार बन्न र चुनाव जित्न सकिन्न भन्ने ध्येयले उनलाई अस्पताल लगरेर उपचार नगरिएको अनुमान गर्न सकिन्छ ।
आफ्नो स्वास्थ्य स्थितिबारे कोइराला निकै आत्मविश्वाशी देखिन्थे । उनले बारम्बार ‘म स्वस्थ्य छु’, ‘क्यान्सरलाई जितिसकें’ भन्ने गरेका थिए । उनको निधन क्यान्सरका कारणले नभएर ब्रोङकाइटिस र निमोनियाका कारण भएको डा। योगीको भनाई छ ।
सोमबार राति कोइरालाको स्वास्थ्य स्थिति निकै बिग्रियो । साँझदेखि नै डा। योगी सहितको चिकित्सक टोली कोइराला निवासमा बसेको थियो, तैपनि अस्पताल भने लगिएन । स्वास्थ्य स्थिति सुध्रिहाल्छ, विरामी भएको प्रचार गर्न हुन्न भनेरै कोइरालालाई अस्पताल नलगिएको हुनसक्छ । ‘राति स्वास्थ्य स्थिति यति बिग्रियो कि अस्पताल लैजाने अवस्था समेत भएन,’– योगीले भनेका छन् ।
कांग्रेस महाधिवेशनलाई ध्यानमा राखेर स्वास्थ्य स्थिति गुपचुप राख्ने प्रयास गरिँदा कोइरालाको घरमै निधन भयो । उनी सिकिस्त भएको देशले थाहा पाएन, एकैपटक निधन भएको अत्यासलाग्दो खबर जनताले सुन्नुप¥यो । पार्टी महाधिवेशन र राजनीतिसँग स्वास्थ्यलाई जोड्नाले नेपालका पूर्व प्रधानमन्त्री, देशको सबैभन्दा ठूलो पार्टीका सभापति सुशील कोइरालाको निधन अस्पताल नपुगी घरमै हुन गयो ।



