
हुलाकी न्यूज, काठमाडौं २६ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।
मोदीले कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको र नेपालले राष्ट्र सेवक गुमाएको ट्वीटमार्फत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक आन्दोलनमा कोइरालाले गरेको मेहनतको प्रसंशा गरेका छन् । उनले संविधान निर्माणमा कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोइरालाको निधनले आफु स्तब्ध भएको बताएका छन् । काठमाडौं बाहिर रहेका प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम छोट्याएर काठमाडौं फर्किने जनाएका छन् ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले देशले असल नेता गुमाएको बताएका छन् । थापाले कोइरालाको निधनले आफु स्तब्ध बनेको बताएका छन् ।



