
हुलाकी न्यूज, राजविराज २५ माघ । नेपाल सदभावना पार्टी (गजेन्द्रवादी)ले मधेश आन्दोलन तुहिनुको जिम्मेबारी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लिनु पर्ने बताएको छ । पार्टीका अध्यक्ष अध्यक्ष विकास कुमार तिवारीले आन्दोलनमा शिथिलता आउनुको प्रमुख जिम्मेबार मोर्चा रहेको बताएका छन् ।
तिवारीले सम्पूर्ण मधेशवादी शक्तिहरुबीच मोर्चाबन्दी गरेर निर्णायक आन्दोलन गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
राजविराजस्थित मधेशी पत्रकार समाजको कार्यालयमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी उनले सम्पूर्ण मधेशवादी शक्तिहरुबीच मोर्चाबन्दी गरेर आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिए । ‘करिब ६ महिनासम्म आन्दोलन जारी रहँदा पनि शासकवर्ग गम्भीर बन्न सकेको छैन, त्यसैले गत विगतका कमी कमजोरीहरुबाट पाठ सिक्दै सम्पूर्ण मधेशवादी शक्तिहरु बीच मोर्चाबन्दी हुनु जरुरी छ ।’–तिवारीले भने ।
मधेश आन्दोलनको मुख्य विषय संविधान संशोधन भएकोले काँग्रेस, एमाले र माओवादीसँग समदूरी बढाएर जानुपर्ने उनले बताए । भारतको मुजफरपुर र पटनाबाट मधेश फर्किएलगत्तै मोर्चाका केही नेताहरु सत्तासँग नजिकिएको आरोप लगाउँदै उनले रणनीति तहत आन्दोलनलाई निष्कर्ष विहिन बनाएको बताए ।
भारतको मुजफ्फरपुर र पटनामा सम्पन्न कार्यक्रम सम्पन्न कार्यक्रम तथा भारतीय नेताहरुसँगको भेंटघाटमा आफूले समग्र मधेश एक प्रदेशको पक्षमा कुरा राखेको बताए । महागठबन्धनको आवश्कतामाथि जोड दिँदै आफूले सिमामा तस्करी, संविधानमा रहेको त्रुटीलगायतको विषयमा भारतीय नेताहरुलाई जानकारी गराएको उनले जानकारी दिए । भारतीय नेताहरुले सम्पूर्ण मधेशवादी शक्तिहरुको एउटै मोर्चा बनाएर अगाडि सुझाव दिँदै मधेश आन्दोलनमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेको सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष तिवारीले बताएको न्यूजटुडेले जनाएको छ ।



