
हुलाकी न्यूज, काठमाडौं २३ माघ । आन्दोलनको स्वरुप परिवर्तन लगायतका विषयमा छलफल गर्न विशेष मानिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सर्दै गएको छ ।
विहीबार साँझ बस्ने भनिएको मोर्चाको बैठक शनिबारसम्म पनि बस्न सकेको छैन । मोर्चाका बैकक आइतबार हुन सक्ने तराई–मधेश लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयेश त्रिपाठीले हुलाकी न्यूजलाई बताए । उनले नेताहरुको व्यवस्तताको कारण बैठक बस्न नसकेको जनाए ।
यता सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाको बैठक बारे अहिलेसम्म जानकारी नआएको बताए । सुमनले हालसम्म मोर्चाको बैठक बस्न नसकेको बारे खुलाउन चाहेनन् ।
अर्कोतर्फ तराई–मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले मोर्चाका केही नेताहरुलाई आन्दोलनभन्दा कार्यक्रमहरु प्यारो रहेकोले मोर्चाको बैठक बस्न आलटाल भइरहेको बताए ।
राईले मधेशी मोर्चाका घटक दलका अध्यक्षहरु बैठकबाट भाग्न खोजिरहेको आरोप लगाएका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार मोर्चाको बैठक बस्ने हुलाकी न्यूजलाई बताएका थिए ।



