
हुलाकी न्यूज, लहान २३ सिरहा । सिरहा जिल्लाको लहानमा थारुहरुको विशेष प्रशिक्षण शनिबारबाट सुरु भएको छ । आन्दोलनका विषयमा केन्द्रीत रहेको प्रशिक्षणमा विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रशिक्षण दिदैछन् ।
थारु कल्याणकारिणी सभाले आयोजना गरेको उक्त प्रशिक्षणमा देश र विदेशका गरी करिब एक हजार प्रतिनिधि सहभागी छनु । लहानको अतिथि सदनमा सुरु भएको प्रशिक्षणको उद्घाटन सभाकै संरक्षक अमृत खाँले गरेका छन् ।
सभाका केन्द्रीय प्रशिक्षण विभागका प्रमुख राजकुमार लेखीकाअनुसार शनिबार प्रध्यापक डा.कृष्ण भट्टचन र अधिवक्ता शंकर लिम्बुले प्रतिनिधिहरुलाई प्रशिक्षण दिदैछन् ।
प्रध्यापक भट्टचनले राष्ट्रिय तथा अन्तर्राष्ट्रयरुपमा भएका अधिकारमुखी आन्दोलनबारे प्रशिक्षण दिने जनाइएको छ । उनले देशमा जारी आदिवासी थारु, मधेशी, मुस्लिम, दलितलगायतका आन्दोलनबारे ब्रिफिङ गर्नेछन् । यस्ता आन्दोलनहरु किन र कसरी सुरु भएको र कस्तो स्थितिमा टुंगिएकोबारे पनि भट्टचनले ब्रिफिङ गर्ने कार्यक्रम रहेको लेखीले जनाएका छन् ।
त्यस्तै मानवअधिकारवादी तथा अधिवक्ता शंकर लिम्बुले हालै जारी भएको नेपालको संविधान २०७२ बारे प्रकाश पार्नेछन् । त्यस्तै अधिवक्ता सुरेन्द्र महतो, राजनीतिक विश्लेषक सीके लाल, वरिष्ठ पत्रकार सीताराम अग्रहरी, पूर्व राजदूत विजयकान्त कर्ण र अधिकारकारकर्मी ज्योति दनुवारले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको थारु कल्याणकारिणी सभाले जनाएको छ ।
कभर : फाईल फोटो



