
सुकदेव चामलिङ
आदिम गण समाजका आदिवासी जनजाति सुमदायमा खासै लेख्य परम्परा विकसित भएको पाइँदैन । समाज विकासक्रमको कालखण्डमा कतै अभिलेखन प्रयास भएको पाइए पनि साम्राज्यवादको हस्तक्षेसँगै राज्य र त्यस्ता ऐतिहासिक महत्वका दस्तावेज गुमाएको पाइन्छ ।
त्यसैले आदिवासी जनजातिको लेख्य इतिहासको खोजीमा प्रायः विदेशी र शासक निकटका विद्धानहरुले कलम चलाएको भेटिन्छ । यसले गर्दा आदिवासी जनजातिका वास्तविक इतिहास बङ्ग्याइएको समेत पाइन्छ । प्रायः आदिवासी जनजातिको इतिहास लेखन अभ्यासमा नआउँदा जनश्रुतिकै आधारमा पुस्तान्तरण भएको पाइन्छ । पहिचानप्रति सचेत र शिक्षित पछिल्लो पुस्तामा लेख्य परम्पराको विकास भए तापनि तिनीहरुको अध्ययन स्रोत विदेशी र शासक निकटका विद्धानले तयार पारेका ग्रन्थनै आधार हुने गरेको छ । यसले गर्दा कतिपय मौलिक साँस्कृतिक पहिचान विलोपीकरणमा परेको भेटिन्छ ।
नेपालकै सन्दर्भमा पनि पछिल्लो कालमा किरात शब्द प्राचीन सभ्यतासँग जोडेर बुझाइयो । जुन चाहेर पनि निश्चित समुदायले त्याग्न नसक्ने अवस्थामा देखिन्छ । विशेषगरी राई, याक्खा, सुनुवार र याम्फु जातिले ‘किरात’ शब्दप्रति गर्व महसुस गरेका छन् । किरात शब्दको प्रयोग आर्य धर्मग्रन्थहरु्रमा प्रशस्तै उल्लेख भएको पाइन्छ ।
पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्नुअघि नेपालमा छुट्टाछुट्टै स्वतन्त्र राज्यहरु थिए । नेपालमा हालको पश्चिमी सीमाना र त्यसभन्दा पनि पश्चिमी भू–भागसम्म मंगोल नश्लका खसान गणराज्यहरु स्वतन्त्र थिए । मध्यपश्चिम भू–भागमा मगर जातिको १२ मगराँती र गुरुङ जातिको ९ तमुवान गणराज्यहरु स्वतन्त्र ढंगले सञ्चालित थिए । पश्चिम–दक्षिणमा थारु जतिको थारुवान गणराज्य थियो । मध्य भू–भाग उपत्यकामा तीन ओटा नेवार जातिको नेवाः गणराज्य थियो । त्यस्तै उपत्यका पूर्व बनेपादेखि सुदूरपूर्व आसामसम्म खम्बु जातिको खम्बुवान स्वतन्त्र रुपमा शासनाधिकार प्रयोग गरिरहेका थिए । त्यही खम्बुवान कालान्तरमा १६ खम्बुवान र १० लिम्बुवानमा विभाजित भई अस्तित्वमा थिए (किरण दुमी, नेपाली आदिवासी जनजातिको राष्ट्रिय मुक्ति आन्दोलन, २०६७) ।
१६ ओटा संघीय गणराज्यमा सञ्चालित खम्बुवानको मुख्य–मुख्य थुममध्ये धुलिखेलमा महेन्द्रसिं, दोलखामा नाम्दुहाङ, रावाथुममा चतिम, हतुवामा सुनाहाङ, तामाकोशी–रामेछापमा वलिहाङ र उलिहाङले शासन गर्दथे (खम्बुवानको राजनैतिक प्रस्ताव, खम्बुवान राष्ट्रिय मोर्चा) । जुन गणराज्यहरुलाई पृथ्वीनारायण शाहले युद्धमार्पmत् एकीकरण गरेका थिए । जसलाई पछि आएर नेपाल अधिराज्य भनिँदै आयो ।
पृथ्वीनारायण शाहले जुन उद्देश्यका लागि स्वतन्त्र गण–राज्यलाई विजय गरे तापनि अन्ततोगोत्वा त्यसले नेपाली समाजलाई झन् भावनात्मक हिसाबले खण्डित बनायो । ऐतिहासिक रेकर्ड हेर्ने हो भने दुई सय ३९ वर्षे शाही शासनले भौगोलिक एकीकरणमात्रै गरेको थियो । यहाँका जातजाति–आदिवासी जनजातिबीच भावनात्मक रुपमा एकता गर्न सकेकै थिएन । शाही राज्यसत्ताको आँडबलमा नेपालको बहुपहिचान विशेषतालाई सधैं उपेक्षामात्रै गरेनन् पराजित राज्य रजौटामाथि उत्पीडनसमेत थोपरियो । परिणाम विभेद, गरिबी, अशिक्षा, पछौटेपन हात लाग्यो । राजसंस्थाकै आँडमा बसेकाहरुले शक्तिको जथाभावी दुरुपयोग गरी आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, मधेसीमाथि दमनचक्र चलाएको थियो । यसले गर्दा सामन्ती संस्कारको बढोत्तरी, वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय उत्पीडन, असमानता र शोषण उत्पन्न हुन पुग्यो ।
खम्बु र किरातबीच अर्थभेद
‘खम्बु’ शब्द प्रचलनमा नआउँदा लगभग अनौठो भइसकेको छ । कसै–कसैले ‘खम्बु’ र ‘राई’ एउटै रहेको पनि बताउँछन् । शाब्दिक अर्थ त्यस्तो छैन । मौलिक इतिहासलाई पहिल्याउँदै जाँदा खम्बु जातिका पूर्वजलाई नै किरात भनी सम्बोधन गरिएको मान्न गाह्रो छैन । जुन मौलिक नभई बोलीसुखको लागि आर्यहरुले भनिदिएको देखिन्छ । वास्तवमा ‘खम्बु’को अर्थ ‘धर्ती पुत्र’ हो । अर्को अर्थमा ‘खम्बु’ भन्नाले ‘चार किल्ला गाडिएको जमीनको मालिक’ हो ।
यसरी ‘खम्बु’को अर्थ भूमि मालिकसँग जोडिएको छ । ‘राई’को अर्थ प्रशासनिक इकाईका प्रमुख अर्थात् गाउँका मुख्य मान्छे हो । खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्ट (हाल खम्बुवान स्वायत्त राज्य परिषद)को घोषणा पत्रमा आज किराती भनी चिनिने राई, याक्खा, याम्फु, लोहरुङ, आठपहरिया, वालुङ, सुनुवार, जिरेल, सुरेल, हायु, थामी, माझी सबै प्राचीन खम्बुवंशी दाबी गरिएको छ । यिनीहरुको चूलापूजा र साकेला नृत्य गर्ने समान साँस्कृतिक निकटतालाई खम्बु जाति भएको आधार मानिएको छ ।
प्राचीन आर्य जातिसँग घुलमिल हुन थालेपछि खम्बु जातिका पूर्वज किरातबाट बोलाइएका हुन् भन्ने केही विद्धानका मत छन् । आर्य जातिका विभिन्न वैदिक ग्रन्थमा ‘किरात÷किराती’ उल्लेख भेटिनाले खम्बु जातिलाई प्राविधिक रुपमा किराती भनिएको छ । उत्तरवैदिक कालमा आर्यहरुले हिमाल, पहाडतिर बसोबास गर्ने जातिसँग व्यापार गर्दथे । जसलाई उनीहरु ‘कैराते’ भन्थे (विश्वको प्राचीन इतिहास) । त्यसको अपभ्रंश नै ‘किराती’ हो ।
यसबाट पनि विद्धानहरुको कुरामा सहमत हुने आधार भेट्न सकिन्छ । किराती शब्द संस्कृत हो । संस्कृतमा हिमाल-पहाडलाई ‘कैलाश’ भनिन्छ । त्यहाँ बस्नेलाई ‘कैलाशे’ भनियो । जुन अपभ्रंश हुँदै ‘कैराते÷किराती’ भएको तर्क सत्य मान्न सकिन्छ । किराती शब्द निश्चित भूभागमा बसोबास गर्ने समुदायलाई चिनाउन प्राचीन आर्यहरुले प्रयोग गरेको थियो अर्थात् थेप्चो नाक, होचो पुड्को शारीरिक बनावट भएका, जाँडरक्सी पिउने, झगडालु स्वभावका असभ्य मानिस÷समूहको रुपमा चिनाउन प्रयोग गरिएको पाइन्छ । किनभने प्राचीन आर्यहरुले अनार्यमाथि सम्मानित व्यवहार गरेको देखिँदैन । अनार्य जाति उनीहरुका निम्ति दास समान हुन्थे । जसलाई आर्यहरुले संस्कृत शब्दमा ‘दस्यु’ मान्दथे । यसैले किराती शब्द आर्यहरुले होच्याउन नै प्रचलन ल्याएको मान्न सकिन्छ ।
आर्यग्रन्थ अथर्ववेदअनुसार ‘एउटी किरात युवती सुनले बनेको खुर्पाले ठूला–ठूला पर्वतमा साना–साना टाकुराहरुमा जुडिबुटी औषधि खनिरहेकी छे,’ भनी उल्लेख गरेको पाइन्छ (डा. स्वामी प्रपन्नाचार्य, प्राचीन किरात इतिहास, ५५ पेज) । अर्जुनबाबु माबुहाङको लिम्बुवान पुस्तकमा उल्लेखित सुनितकुमार चटर्जीका अनुसार ‘इसापूर्व एकहजार वर्ष पहिले आसामबाट मंगोलाइड जातिहरु पूर्वी पन्जाबका पर्वतहरुमा बसोबास गर्थे । उनीहरु जडिबुटी र सोमरस प्रयोग गर्थे । यसै क्रममा पश्चिमबाट आएका आर्यहरुसँग उनीहरुको घुलमिल हुन थाल्यो । ती मंगोलाइड जातिलाई आर्यहरुले किरात भनी सम्बोधन गथ्र्यो ।’ यस भनाइमा डा. स्वामी प्रपन्नाचार्यको विमती देखिन्छ । प्रपन्नाचार्यका अनुसार किरातीहरु पश्चिमबाट नेपाल प्रवेश गरेका हुन् । यद्यपि, अधिकांश विद्धानले किरातीहरु पूर्वबाटै नेपाल प्रवेश गरेको तर्क पेश गरेका छन् ।
प्राचीन खम्बुवंशीले नेपालको हिमालदेखि समुद्रसम्म शासन गरेको उल्लेख पाइन्छ । खम्बुवंशीको पछिल्लो सुदृढ सत्तानै यलाखोम (काठमाडौं उपत्यका) मानिएको छ । जुन राजा यलम्बरले महिसपाललाई युद्धद्वारा हराई स्थापना गरेका थिए । यलाखोममा खम्बुवंशीले १७ सय वर्ष कविलातन्त्र चलाएको अनुमान छ । जुन आधुनिक इतिहासमा किरात शासनको रुपमा समेटिएको छ । यलाखोममा ३२ पुस्तासम्म यलम्बरका सन्तानहरुले शासन गरेको थियो । यलाखोमका अन्तिम खम्बु जातिका राजा योग्नेहाङ थिए । उनका दुई छोरा जेठा लिलिमङहाङ र कान्छो खाम्सोहाङ थिए । खाम्सोहाङ बनेपाको राज्य छाडी पूर्वतिर लागे । जसको मूलकारण बनेपामा लिच्छवी शासकले दुःख दिइरहन्थ्यो । जेठा लिलिमङले यलाखोमको राज्यसत्ता गुमाएपछि पूर्व गइसकेका थिए । लिच्छवीको बारम्बारको आक्रमणका कारण खाम्सोहाङले पनि बनेपाको राज्यसत्ता छाडेर दूधकोशी किनारको मुग्लीदेरेपुमा ‘खम्बुक यक’ खडा गरी खम्बुवान राज्यसत्ता सञ्चालन गरी बसेका थिए ।
प्राचीन खम्बुवान विशाल भए तापनि विभिन्न उतारचढावका कारण यसरी सीमित हुन पुगेको थियो । अझ विविध कारणले खम्बु जातिबाट लिम्बु छुट्टिएर गएपछि तिनै खाम्सोहाङका वंशज र प्रजामात्रै मौलिक नाम ‘खम्बु’बाट चिनिन पुग्यो । खम्बुवानको अघिल्लो राज्यसत्ता यलाखोम लिच्छवीले चोइटाइदिएपछि र खम्बुवानबाट टुक्रिएर लिम्बुवान अस्तित्वमा आएपछि नै खम्बु र खम्बुवानको सीमाना साँगुरिएको थियो । खम्बुवान खुम्चिए तापनि स्वतन्त्र अस्तित्वमा रहेकै थियो । लिम्बुवानका इतिहासकार इमानसिंह चेमजोङको ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’का अनुसार ‘गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले युद्ध आक्रमण गरी स्वतन्त्र अस्तित्वमा रहेको स्वशासित खम्बुवान राज्यलाई गोरखा राज्यमा मिलाए । उनले लामो संघर्ष र सैनिक क्षतिका बाबजुद १८३१ सालमा खम्बुवानको सार्वभौमसत्ता खोसेका थिए ।’ यसपछि खम्बु र खम्बुवानको अस्तित्वमाथि षड्यन्त्र सुरु भयो ।
यद्यपि, विभिन्न षड्यन्त्रका बाबजुद खम्बुवानलाई चिनाउने केही त्यस्ता स्थान अभैm रहेको पाइन्छ । सोलुखुम्बु खम्बुवानको एक साक्षी भूमि हो । वास्तवमा सोलुखुम्बु ‘सोलखम्बुक’को अपभ्रंश हो । अन्य साक्षीको रुपमा खुम्बु क्षेत्री (खम्बु क्षेत्र), खम्बुइला, खुम्बु हिमशृङ्खला (खम्बु हिमशृङ्खला), खुम्बु हिमनदी (खम्बु हिमनदी) पनि खम्बुवान राज्यका ज्युँदो साक्षी हुन् । खम्बुवान डेमोक्रेटिक फ्रन्टको मुखपत्र ‘खमबुवान सन्देश’को वर्ष १ अंक २ मा भूमि साम्पाङले आप्mनो लेखमा उल्लेख गरेअनुसार आर्यहरुको जिब्रोमा ‘खम्बु’ शब्द उच्चारण गर्न असजिलो भएर ‘खुम्बु’ भएको हो । त्यस शब्दमा पनि खम्बु र खम्बुवानको पहिचान जोडिएको छ ।
खम्बुवान संघर्ष विगत र वर्तमान
खम्बुवान राज्य पुनप्र्राप्तिको लागि १८६४ सालमा हतुवागढीका राजकुमार तथा सेनापति अटलसिंको नेतृत्वमा गोरखा शासनविरुद्ध लामो सम्झौताहीन संघर्ष भएको थियो (नव चोमोलोङमा खम्बुवान विशेषांक, पुस २०५७) । अटलसिंले ३३ वर्ष गोरखा शासनको भूमि अतिक्रमणविरुद्ध युद्ध गरेका थिए । यस युद्धमा अलसिंसहित भरतसिं, अलट खत्री, कनकसिं घर्ती र नरि बस्नेतलगायत सयौं गैरखम्बु पनि मारिएका थिए ।
नेपालको माझकिरातले परिचित मध्यपूर्व इलाकामा माओवादीले जनयुद्ध थाल्नुअघि खम्बुवान मुक्ति मोर्चा गठन भएको थियो । मोर्चा २०४९ साल भदौं ५ गते स्वशासित राज्यको लागि गठन भएको थियो । मोर्चाका तत्कालीन अध्यक्ष गोपाल खम्बु (हाल गोपाल किराती)ले २०५७ सालको मध्यतिर स्वशासित खम्बुवान राज्यसत्ता स्थापना प्राप्त गरी छाड्ने दृढता व्यक्त गरेका थिए । (काठमाडौं टुडे, वैशाख १, २०५६) अन्यथा, खम्बुवान स्वायत्त जनसरकार गठन गरी श्री ५ को सरकारको समानान्तर सत्ता सञ्चालन गर्ने तत्कालीन राजा वीरेन्द्रलाई चुनौतीसमेत अध्यक्ष खम्बुले दिएका थिए । आप्mनो शान्तिपूर्ण माग कतैबाट सुनुवाई नभएपछि २०५४ सालपछि मोर्चा सशस्त्र संघर्षमा होमिएको थियो ।
तत्कालीन मन्त्रीहरु, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, कृष्णप्रसाद भट्टराईसमक्ष शान्तिपूर्ण ढंगले मोर्चाको माग राख्दा कुनै सुनुवाई नभएपछि सशस्त्र विद्रोहमा होमिएको थियो । खम्बुवान क्षेत्रमा साँस्कृतिक र भाषिक अतिक्रमण गर्ने भोजपुरस्थित तीन संस्कृत विद्यालयमा बस विस्फोट गी सशस्त्र विद्रोहको संकेत दिइएको थियो । भोजपुरको सल्यान, कटुन्जे र दिङ्लाका तीन संस्कृत विद्यालयमा विस्फोट गराइएको थियो । यसपछि केन्द्रीय राज्यसत्ताविरुद्ध विभिन्न छापामार कार्वाहीमा मोर्चा संलग्न रहँदै आएको थियो ।
२०५८ असोजको अन्तिमतिर सम्पन्न आँखीभुँइ सम्मेलनबाट मोर्चा माओवादीमा विलय भएपछि खम्बुवानको आन्दोलन निष्क्रिय बन्न पुग्यो । मोर्चालाई त्यतिबेला लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चासहित किरात राष्ट्रिय मोर्चामा विलय गरिएको थियो । जुन मोर्चा २०६३ साल माघ २० मा पुनः विके कोयुको अध्यक्षतामा पुनर्गठन गरियो र संघीय गणतान्त्रिक मोर्चासँग मिलेर आन्दोलनमा सहभागी भयो । त्यही आन्दोलनको बलमा २०६४ साल फागुन १८ गते पाँच बुँदे सहमति भयो । सात दल सम्मिलित सरकारी वार्ता टोलीद्वारा बोलाइएको उक्त वार्तामा संघीय नेपालमा खम्बुवान राज्य सुनिश्चित गर्ने सहमति भएको थियो ।
यसैले भावी संघीय नेपालमा खम्बुवानको ऐतिहासिक तथ्य र पहिचानलाई संस्थागत गरी सम्मान दर्शाउन केन्द्र सरकार गम्भीर हुन आवश्यक छ ।
वर्तमान समस्या
राईहरुका साझा सामाजिक संस्था किरात राई यायोख्खाले पाँचौ महाधिवेशनबाट ‘किरात प्रदेश’को अवधारणा पारित गरेपछि पूर्वमा लिम्बुवान र खम्बुवान आन्दोलनमा अप्रत्यक्ष असर परिरहेको छ । यायोख्खाले मेचीदेखि सगरमाथा अञ्चलका राजमार्गमाथिका पहाडी भू–भागलाई ‘बृहत किरात प्रदेश’को अवधारणामा समेटेर आइरहेको छ ।
तर, यायोख्खाको यस्तै प्रस्ताव माओवादीको जनयुद्धकालमा समेत गरिएको थियो । जुन कालान्तरमा असफल भएर आयो । यसको मूलकारण १८३१ सालअघिको ऐतिहासिक राजनैतिक पृष्ठभूमिनै हो । किनभने पृथ्वीनारायण शाहले पूर्वका राज्यहरु गोरखामा मिलाउनु अघि खम्बुवान र लिम्बुवान स्वतन्त्र गणराज्य थिए र छुट्टाछुट्टै राजनैतिक र प्रशासनिक अधिकारसहित स्वतन्त्र रुपमा सञ्चालित थिए । यस्तै ऐतिहासिक चरित्र र अस्तित्वका कारण खम्बुवान र लिम्बुवानलाई गाभेर किरात राज्यको प्रस्ताव गरेको माओवादी प्रयास असफल भएको मान्न सकिन्छ ।
माओवादी शान्तिवार्तामा आएपछि लिम्बुवानको छुट्टै आन्दोलन चर्केको परिप्रेक्ष्यमा यायोख्खाको अवधारणाले खासै निकास दिन सक्दैन । बरु, यसले राई र लिम्बुबीचको द्वन्द्वलाई चर्काउन सक्छ । साथै एकले अर्कामाथि शंका र असहयोग हुन सक्दछ । -किराँतसन्सार



